दुर्गाप्रसाद शर्मा
पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड शुक्रबार देखि दैनिक ७ घण्टा बन्द भएको छ । पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवाको भीर र मोदी गाउँपालिकामा पर्ने डिमुवा माहुरीभीरमा सडक फराकिलो बनाउने क्रममा सडक बन्द गरिएको हो ।
कुस्मा नगरपालिकाको खरेहा खोला देखि मोदी गाउँपालिकाको अधेरीखोला सम्म बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म सडक बन्द भैरहेको छ भने दिउँसो १ बजे देखि ४ बजे सम्म पनि सडक बन्द गरिएको छ । साँझ ६ बजे देखि राती ८ बजे सम्म पनि सडक बन्द गरेर सडक निर्माणको कामलाई निरन्तरता दिएको छ ।
निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालका अनुसार माहुरीभरमा २ स्थानबाट सडक फराकिलो बनाउने काम भैरहेको छ भने चुवा भीरमा एक ठाउँबाट काम थालिएको छ । अझै थप स्काभेटर परिचालन गरि दुबै ठाउँमा ३, ३ ठाउँबाट सडक फराकिलो बनाउन काम तीब्र बनाउने योजना रहेको भुसालले बताए । ‘बर्षा याममा यात्रुको चाप पनि कम हुने र सवारी साधन पातलो चल्ने कारणले सात घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय हो ’ प्रोजेक्ट म्यानेजर भुसालले भने ‘दुबै कठिन भीरहरुमा दुई महिना भित्रमा काम सक्ने लक्ष्य राखेर काम गर्दैछौ’
आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ ।
अहिले सम्म १२ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । यात्रुलाई पनि लगातार बन्द गर्दा समस्या पर्ने भएकाले सडक पनि निर्माण हुने र यात्रुलाई समस्या नहुने गरि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला गुरुदत्त ढकालले बताए । चुवा र माहुरी भिरमा पनि सके सम्म बैकल्पिक सडक बनाएर आवगमन सहज बनाउने प्रयास भैरहेको पनि उनले जानकारी दिए ।
पर्वत खण्डमा बन्द हुँदा कास्कीमा समस्या
मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत खण्डमा सडक बन्द गर्दा कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको गिरीचोक नजिक सडक बन्द गर्न भने समस्या भएको छ।
पर्वत खण्डमा बन्द खुलेर पुग्ने सवारी साधनहरुका कारण उही समय तालिकामा सडक बन्द गर्न समस्या भएको निर्माण कम्पनी एपेक्स कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर काशीराज बोहराले जानकारी दिए । समय तालिका नमिल्दा शुक्रबार सडक बन्द नगरेको र काम रोकिएको उनले बताए ।
उक्त कम्पनीले दुई महिना देखि सडक बन्द गरेर उक्त खण्डमा सडक फराकिलो बनाउने काम गर्दै आएको थियो । बिहान ७ बजे देखि ८.३० सम्म, ९.३० देखि १०.३० सम्म, दिउँसो १२.३० देखि २ बजे सम्म र दिउँसो ३ बजे देखि ५ बजे सम्म सडक बन्द गर्दै आएको थियो । उक्त सडक फराकिलो बनाउन गिरीचोक नजिकको पहरोमा अब एक हप्तामा काम सकिने बोहराले बताए। उनले लामा कन्ट्रक्सन संग समन्वय गरेर काम गर्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।