सुरुङ्गा, झापा गाउँपालिका– १ का सितुमारी हुँदै स्यालमारा जोड्ने सडक खण्डको सानो माइमा झोलुंगे पुल निर्माण भएको छ ।
सहारा नेपालको प्राविधिक सहयोग, स्थानीय जनश्रमदान र झापा गाउँपालिकाको रु तीन लाख ४१ हजारसहित रु ५८ लाखको लागतमा सानो माइमा पुल निर्माण भएको हो । पुल निर्माणसँगै स्यालमाराका ३०० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।
यसअघि सानो माइमा पुल नहुँदा त्यस क्षेत्रका सर्वसाधारण हिउँदमा बाँसे पुलको सहयोगमा झापा बजार आउने गरेका थिए, भने वर्षायाम शुरुभएसँगै भारतीय बजार दिघलबैंकको भर पर्नुपर्ने अवस्था रहेको स्थानीयवासी जालिम मियाँले बताउनुभयो ।
६४ मिटर लम्बाइको सो पुलको उद्घाटन जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठ, झापा गाउँपालिका अध्यक्ष जयनारायण साह र नेपाली काँग्रेसका नेता देउमान थेवेले संयुक्त रुपमा गर्नुभयो ।
माइ खोलामा पुनःनिर्माणसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहजता भएको भन्दै सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर इजामले तत्कालका लागि आवातजावतमा सहजता भए पनि दीर्घकालका लागि यस ठाउँमा पक्की पुलको आवश्यकता रहेको बताउनुभयो ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।