हेटौंडा,(नेस) । मनहरीमा युवा संसद् नमूना अभ्यास सकिएको छ । राष्ट्रिय युवा परिषद्सँगको समन्वयमा जिल्ला युवा समिति र मनहरी गाउँपालिकाले गरेको युवा संसद्मा मनहरी गाउँपालिकाका ९ वटै वडाका ३० युवाको सहभागिता थियो ।
संसदीय अभ्यासका क्रममा सबिना ओली सभामुख, बुद्ध स्यांतान प्रधानमन्त्री तथा सुजिता थिङ राष्ट्रपति भएका थिए । उनीहरुले संसद्मा आफ्नो पदीय दायित्व निर्वाह गरेका थिए भने अन्य युवा सांसद्ले संसदीय अभ्यास गर्दै राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमबारे सभामुखसँग समय माग गरी धारणा राखेका थिए ।
युवा संसद्को प्रदर्शनी ३ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितको प्रमुख आतिथ्यतामा भएको हो । दुई दिन चलेको अभिमुखीकरणपछि युवाले शुक्रबार संसदीय अभ्यास गरेका हुन् ।
संसदीय अभ्यास सुरु हुनुअघि आयोजित सभालाई सम्बोधन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री स्थापितले सकारात्मक सोचसाथ अघि बढ्नुपर्नेमा युवालाई सचेत पार्नुभयो । उहाँले हरेक कुरामा पक्ष/विपक्षमा उत्रिएर बहस गर्नुको अर्थ नहुने भन्दै राम्रोलाई राम्रो भन्न सक्नुपर्ने बताउनुभयो ।
युवा संसद् समापन समारोहमा ३ नम्बर प्रदेश सांसद् एवम् नेपाल कम्युनिष्ट पार्टी जिल्ला संयोजक मुनु सिग्देलले युवाले गरेको संसदीय अभ्यासको प्रशंसा गर्नुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपसचिव ध्रुवराज पौडेल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, सञ्चारकर्मी शिवकुमार काशीलगायतले युवाका एजेण्डाबारे प्रष्ट्याएका थिए ।
कार्यक्रम जिल्ला युवा समितिका संयोजक सन्तोष चौलागाईंको सभाध्यक्षतमा भएको थियो । संसदीय अभ्यासका लागि सुशीलराज गिरी, अशोक सारुमगर र पूर्वसांसद् राजाराम स्यांतानले युवा सांसद्हरुलाई सहजीकरण गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।