डोटी, (नेस)
वर्षायाम लागे संगै डोटी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामीहरु यो समयमा बढी पुग्ने गरेका हुन् । दैनिक जसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लाीि आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर बिबस पराजुलीले बताउनु भयो ।
डाक्टर पराजुलीका अनुसार छाती सम्बन्धी, झाडापखाला, आउँ, पेट दुख्ने लगाएतका बिरामी अस्पतालमा बढी आउने गरेका छन् । यस्तै ज्वरो, रुघाखोकीका बिरामी पनि धेरै जसो यो समयमा अस्पतालमा उपचारको लागि पुग्ने गरेको डाक्टर बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘वर्षायाममा मौसम परिवर्तन हुने भएकोले अघिपछीको तुलनामा धेरै बिरामी हुने गरेका छन्,खानपान, सरसफाई लगाएतका कुरामा ध्यान दियो भने यस्ता रोगबाट बच्न सकिन्छ ।’
यो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामीहरु बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला अस्पताल डोटीमा आउने बढीजसो बिरामीहरुमा महिला, बालबालिका तथा बृद्धबृद्धा रहेका छन् ।
गर्मी समयमा जिल्लाका अधिकांस स्थानमा पानीको अभाव हुँदा सरसफाईमा ध्यान नदिदा समेत बिरामीहरुको संख्या बढ्दै गएको बताइएको छ । जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएको सम्बन्धित स्वास्थ्य संस्थाहरुले जनाएका छन् । गर्मी मौसममा खानपिन र सरसफाईमा विषेश ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।