सीताराम चौधरी, कपिलवस्तु ।
ह्वील चियर र ट्राईसाइकल पाएका शारीरिक रुपले अपांगता भएका १३ जना व्यक्तिहरुको जीवनशैलीमा परिवर्तन हुने भएको छ । ह्वीलचियरले आफूहरुलाई हिँडडुलमा ठूलो सहयोग पुग्ने भन्दै उनीहरुले खुशी व्यक्त गरे ।
शिवराज नगरस्तरीय अपाङ्गता पुनस्र्थापना समितिले एक कार्यक्रमको आयोजना गरी कपिलवस्तुका ११ र दाङका २ जना अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वील चियर वितरण गरेको हो । शारीरिक अपांगताको प्रकृति हेरी १० जनालाई ह्वील चियर र ३ जनालाई ट्राई साइकल प्रदान गरिएको नगरस्तरीय अपांगता पुनस्र्थापना समिति शिवराजका अध्यक्ष दीपक खडकाले बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुलाई सहज तरिकाले हिँडडुल गर्नका लागि एन.आर.एस.डी. नामक संस्थाले विदेशी दातृ निकायसँग समन्वय गरी ह्विल चियर र ट्राईसाइकलको व्यवस्था गरेको नगरस्तरीय अपांगता पुनस्र्थापना समिति शिवराजका अध्यक्ष खडकाले जनाउनुभयो । कार्यक्रम सम्पन्न गर्न लेटर–डे सेन्ट च्यारिटी र अपांग उत्थान समाज गजेहडाको समन्वय रहेको थियो ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शारीरिक रुपले अपांगता भेषकुमारी थापालाई ह्विल चियर प्रदान गर्दै कार्यक्रम उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले अपांगता भएका व्यक्तिले आफू सबै कुरामा कमजोर छु भन्ने हिनताबोधबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख अधिकारीले अपांगता भएका व्यक्तिप्रति आफू सधैं सकारात्मक रहेको बताउँदै स्वावलम्बी जीवन यापनका लागि नगरपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
चालु आर्थिक वर्षमा अपांगता भएका व्यक्तिहरुका लागि ६ लाख बजेट बिनियोजन गरेपनि विभिन्न कारणले खर्च हुन नसकेको उहाँले बताउनुभयो । अपाङ्गताको सवालमा अनविज्ञ हुँदा र उनीहरुको आवश्यकता पहिचान गर्न नसक्दा समस्या भएको उहाँले स्पष्ट पार्नुभयो । विगतका दिनमा भएका कमीकमजोरीलाई सुधार गर्दै समन्वय र सहकार्य गरी अगाडि बढ्ने समेत उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग पुनस्र्थापना समाजका निर्देशक सुगम भट्टराईले हालसम्म ६० जिल्लामा १३ हजार वढी ह्विलचियर र ट्राईसाइकल वितरण गरिसकेको जानकारी गराउनुभयो । उहाँले आफूले पाएको ह्वीलचियरलाई समय समयमा मर्मत, सम्हार गरी सही रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । ह्वीलचियर नापजाँच गरिएकाले प्रयोग गर्दा असजिलो नहुने बताउनुभयो ।
कार्यक्रममा अपाङ्ग उत्थान समाजका अध्यक्ष केशव ढुङगाना, अपांग महासंघका पूर्वअध्यक्ष मित्रलाल शर्मा लगायतले नेपालमा अपाङ्गता भएका व्यक्तिहरु राजनीतिक अधिकारको लागि लड्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा शिवराज वडा नं. ५ का वडाध्यक्ष अर्जुनबहादुर पाण्डेय, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, शिवराज जेसिसका अध्यक्ष सरोज पौडेल, ट्राफिक सहायक प्रहरी निरीक्षक रामशरण कुमाल लगायतको उपस्थिति रहेको थियो । शिवराज नगरपालिकामा शारीरिक अपाङ्गता व्यक्तिहरुको सख्या ४ सय ८० रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।