यमलाल भुसाल
बुटवल । प्रदेशसभा ५ को प्रदेशसभा बैठकमा वोल्ने अधिकाश सांसदहरुले प्रदेशको नाम र राजधानी तोक्नमाग गरेका छन ।
सोमबारको बैठकमा सांसदहरुले प्रदेशको नामाकरण र राजधानी तोक्न ढिलाई गर्न नहुने बताउनु भएको हो ।
सांसद भूमेश्वर चौधरीले राजधानी नतोक्दा प्रदेश ५ सुकुम्बासीजस्तै भएको टिप्पणी गर्नु भयो । ‘न नाम, न त राजधानी छ, १ बर्ष रुपन्देहीमा राखौं,अर्काे बर्ष बर्दियाको राजापुरमा राजधानी राख्नुपर्छ’ उहाँले भन्नु भयो ।
सांसद अष्टभुजा पाठकले सरकारलाइ प्रदेशको नाम र राजधानी राख्न के को डर छ भनी प्रश्न गर्नु भयो । ‘छिमेकी प्रदेशहरुमा नामाकरण भइसके, स्थायी राजधानी तोकिसकियो, यहाँ कसले रोक्यो, किन तोेकिएन’ उहाँको माग छ ।
सांसद धर्मबहादुर लाल श्रीवास्तबले प्रदेशको राजधानी कपिलवस्तुको तिलौराकोटमा राख्नुपर्ने धारणा राख्नु भयो ।
प्रदेशसभाको बैठकमा रुपन्देही रुद्रपुरकी १६ वर्षीया समीक्षा ठकुरीको रहस्यमय मृत्युको घटनाको सत्य तथ्य पत्ता लगाउन सांसदहरुले माग गरेका छन् ।
शून्य समयमा बोल्दै सांसदहरु निर्मला क्षेत्री, कमलादेवी बिक, दामाकुमारी शर्माले समीक्षा ठकुरीको रहस्यमय मृत्यु महिला हिंसाको चरम उत्कर्षको उदाहरण भएको भन्दै सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
घटना भएको लामो समयसम्म मुद्दा दर्ता नहुनु र विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन प्रसारण भए पछि मात्रै मुद्दा दर्ता गरिनु, स्थानीय जनप्रतिनिधिहरु र स्थानीय प्रहरी प्रशासनले समेत घटना प्रति चासो नदेखाउनु दुखद भएको सांसदहरुले गुनासो गर्नु भएको थियो ।
सोमवारको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले दुइवटा विधेयक टेवल गर्नु भएको छ ।
मुख्य न्यायधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।