काठमाडौ । प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघ कर्णाली शाखाको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्स, नर्स, स्वास्थ्यकर्मी, कर्मचारीहरुले बुधबार प्रतिष्ठानको परिसरमा एक घण्टा धर्ना दिएका छन् ।
चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु गर्नुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी अनसन शुरु भएको १२ दिन बितिसक्दापनि सरकारले मागको सुनुवाई गरेको छैन ।
सरकारका तर्फबाट जिम्मेवार व्यक्ति वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति डा केसीले अपत्ती जनाउनु भएको छ । डा. केसीले कुनै पनि बेला वार्तामा बस्न तयार रहेकाले सरकारले पठाएको बार्ताटोलीसंग बार्ता गर्न तयार रहेको बताउनुभएको छ ।
विज्ञप्ति जारी भए लगत्तै सरकारले डा.केसीलाई उपचारका लागि काठमाडौ ल्याउने तयारी गरिरहेको चर्चा काठमाडौमा चलिरहँदा जुम्लामा भने कुनै जानकारी नभएको र सबैले प्रश्न मात्र सोधीरहेको उपचारमा संलग्न डा.प्रविण कुमार गिरीले बताउनुभयो । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ पनि डा.केसीलाई काठमाडौ ल्याउने तयारी गरेको बिषयमा अनभिज्ञता प्रकट गर्नुभयो ।
नेपाल चिकित्सक संघले डा..केसी १२ दिनदेखि जुम्लामा जोखिमका साथ अनसनमा बस्नु भएको मा राजनीतिक दलले वास्ता नगरेको भन्दै चिन्ता ब्यक्त गरेको छ । संघले दलका नेताहरुलाई भेटेर जीवन रक्षाको लागि पहल गर्नका लागि आग्रह गर्ने बताएको छ ।
संविधान प्रदत्त अधिकार कार्यन्वयन गर्नु सबैको दायित्व हो । संघ नागरिकको यो अधिकारको संरुक्षण गर्न चिकित्सक लागि परेको र डा. केसी. गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका बिषयमा १५ औं पटक आमरण अनसनमा बस्नु पर्ने बाध्यात्मक घटनाक्रमले नेपालमा चिकित्सकीय पेशाको मर्यादा नै धरापमा पर्दै संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजुक्छे, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायतका शिर्षस्थ नेताहरुसँग भेट गरी आन्दोलनको वास्तविकता र डा. गोविन्द केसीको जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जनाका लागि आग्रह गर्ने भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।