
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ गौरवको योजनाअनुसार ५ हजार जनालाई तालिमसँगै रोजगारी र १५ हजार जनालाई स्तरोन्नति तालिम दिने भएको छ। त्यसको लागि कामपाले ३४ विषयमा तालिम दिने प्रक्रिया शुरू गरेको जनाएको छ।
कामपाले असारसम्ममा ५ हजार बेरोजगारलाई रोजगारी दिने तयारी गरेको जानकारी दिँदै कामपा सामाजिक विकास विभाग प्रमुख विमला सुवेदीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तालिमसँगै रोजगारी र १५ हजारलाई विभिन्न विषयमा स्तर उन्नति तालिम दिने छौं ।’
उहाँले कामपाभित्र रोजगारी सिर्जनाका लागि सबै प्राविधिक विषयमा तालिम दिने व्यवस्था गर्न विभिन्न निकायसँग कुराकानी गरिरहेको बताए। अन्तर्राष्ट्रिय गैरसरकारी र राष्ट्रिय गैर सरकारी संस्थासँगै सहकार्य गर्ने विषयमा पनि कुराकानी भइरहेको विभागको भनाइ छ।
कामपाले पहिलो चरणमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)सँग सहकार्य गरी पुषको पहिलो सातादेखि कुकिङ, बेकरी, टुरिजम गाइड र स्पा थेरापी गरी ४ विषयमा तालिम शुरू गर्न लागिएको छ।
तालिममा सहभागी विद्यार्थीको लागत कामपाले बेहोर्नेगरी विभाग र नाथमबीच सम्झौता हुँदैछ । सम्झौतापश्चात् कामपाले प्रशिक्षार्थी छनौट गरी पठाएपछि नाथमले तालिम सञ्चालन गर्नेछ।
विभागीय प्रमुख सुवेदीका अनुसार कामपाले सीटीईभीटीसँग सहकार्य गरी इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषयमा तालिम दिन अन्तिम तयारी भइरहेको छ। तालिम लिएकालाई सिपयुक्त जनशक्तिलाई तत्काल रोजगारी दिने व्यवस्था गर्न नाथम र सीटीईभीटीसँग सम्झौता हुनेछ।
महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरू र रोजगार दाताहरूलाई स्थानमा ल्याएर रोजगारी उपलब्ध गराउन तामिम सञ्चालन गर्न लागिएको हो। त्यसको लागि मेयर बालेन्द्र साहले श्रम बैंक स्थापना गर्ने र बैंकमा दर्ता भएकालाई उपयुक्त तालिम दिने व्यवस्था मिलाइएको छ।
श्रम बैंकमा कामपाका स्थायी बासिन्दा, करदाताहरू तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरू आबद्ध हुन सक्ने व्यवस्था गरिएको छ। श्रम बैंकमा आबद्ध भएकालाई आफ्नै ट्रेनिङ सेन्टरको स्थापना गरी तालिम सञ्चालन गरिने छ।
कामपाले कम्प्युटर, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सिलाई कटाई, होटल व्यवस्थापन, कुक, हाउस किपिङ, कपाल कटाई, ब्युटिसियनलगायत आवश्यताको आधार तालिम शुरू गर्न लागेको हो।
तालिम सञ्चालन र व्यवस्थापन गर्न कामपाले काठमाडौं विश्वविद्यालयमा व्यावसायिक विषयमा स्नातकोत्तर गरेका ७ जनालाई तालिम संयोजक नियुक्ति गरेको छ। उनीहरूलाई तालिम दिने स्थान खोजी गर्ने, प्रशिक्षार्थी छनौट गर्ने र पठन पाठन गराउने जिम्मेवारी दिइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।