बुटवल ।
बुटवलको एक रेष्टुरेण्टमा काम गर्ने कामदारको हत्या भएकोमा अपराधी पक्राउ गर्न प्रहरी प्रशासन जिम्मेवार नभए कडा आनदोलन गर्ने राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले चेतावनी दिएको छ ।
बुटवल उपमहानगरपालिका ७ निवासी रवि थापामाथि गत जेठ २ गते बुटवल कालिकानगरमा रहेको मोन्ताना रेष्टुरेण्टमा काम गरिरहेकै अवस्थामा छुरा प्रहार भएको थियो ।
गम्भीर घाईते थापाको डेढ महिना लामो उपचारमै रहेको अवस्थामा यही असार १८ गते निधन भएको हो । मृतक थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पुर्व सदस्य हुन् ।
थापाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न विहीवार युवा संघ रुपन्देहीका अध्यक्ष विकास जंग बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष वस्नेतले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहित प्रहरी प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा घटनालाई नजर अन्दाज गरेर अपराधीलाई तत्काल पक्राउ नगरिए बन्द अडतालसम्मका विरोधका कार्यक्रम आयोजना गर्ने चेतावनी दिइएको छ ।
घटनाको अनुसन्धान मार्फत अपराधीलाई पक्राउ गरी सजाय दिने काममा भएको ढिलासुस्ती र लाहपरवाहीप्रति गम्भीर आपत्ति प्रकट गर्दै उक्त जघन्य अपराधमा संलग्न व्यक्तिलाई यथाशीघ्र पक्राउ गरी क्षतिपूर्ति सहित कानुनी कारावाही गर्न युवासंघले जोडदार माग गरेको छ ।
अपराधी पक्राउ गर्न ढिलासुस्ती भएको खण्डमा प्रशासन कार्यालयमा धर्ना दिने, सरकारी नम्बर प्लेटका सवारी साधन संचालनमा रोक लगाउने, रांके जुलुस प्रर्दशन गर्ने, बन्द हडताल गर्ने लगायतका चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
अपराधीको पहिचान भइसकेको अवस्थामा संघले पटक पटक प्रहरी कार्यालय लगायत सरोकारवाला निकायसम्म दवाव दिंदा पनि हालसम्म पक्राउ नपर्ने विषयले अत्यन्त चिन्तित बनाएको जनाएको छ । प्रहरी अनुसन्धानप्रति पनि प्रश्नचिन्ह खडा भएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रहरी अपराधी नजिक पुगेको जानकारी गराउँदै छिटो भन्दा छिटो पक्राउ गरी सार्वजनिक गर्ने आश्वासन दिनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।