उदयपुर ।
त्रियुगा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बुधबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष, सदस्य तथा उदयपुर जिल्ला कार्य समितिका नव निर्वाचित पदाधिकारीहरु, सदस्यहरु, प्रदेश पार्षद र केन्द्रीय पार्षदहरुलाई बधाई दिनुका साथै स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
त्रियुगा नगरपालिकामा आयोजित सो कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले पत्रकाहरुलाई सिन्दुर टीका लगाएर खादाले स्वागत गर्दै नेपाल पत्रकार महासंघसँग मिलेर कार्यक्रम गर्न आफू तयार रहेको र पत्रकारहरुको हकहित तथा व्यवसायिक पत्रकारिताको विकासका लागि त्रियुगा नगरपालिकाले सहयोग गर्ने बताउँदै आगामी वर्षको बजेटमा कार्यक्रम प्रस्तुत गर्दा पत्रकारिता क्षेत्रको विकासका लागि समेत बजेटको व्यवस्था गरिने बताए ।
उपमेयर महेश्वरी राईले राज्यले चौथो अंगका रुपमा मान्यता दिएको पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र उदयपुरको पत्रकारितामा देखिएका समस्याहरुको समाधानका लागि नगरपालिकाले गर्न सक्ने सहयोग हुने बताइन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका नव निर्वाचित अध्यक्ष भरत खड्काले नेपाल पत्रकार महासंघ उदयपुर शाखाका लागि धेरै काम गर्न बाँकी रहेकोले ति कामहरु नगरपालिकाको सहयोगमा सम्पन्न गर्न पहल गर्नु पर्ने बताउँदै नगरपालिकाले विविध विषयमा लेखनवृति उपलब्ध गराउनु पर्ने बताए ।
यसैगरी नेपाल पत्रकार महासंघ उदयपुर शाखाका नव निर्वाचित अध्यक्ष भक्ति विलास पोखरेलले उदयपुरमा व्यवसायिक पत्रकारिताको विकासकालागि र विकास पत्रकारिताको लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै पत्रकारिता क्षेत्रलाई विश्वसनीय बनाउन र स्थानीय समस्या तथा पत्रकारिता क्षेत्रबाट अपेक्षा गरिएका विषयहरुमा ध्यान दिएर कलम चलाउने बताए ।
यस अघि बुधबार नै नेपाली कांग्रेस उदयपुर जिल्ला कार्य समितिले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा ने का उदयपुरका सचिव तथा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष पोखरेल, ने का जिल्ला सभापति तथा उदयपुर १ क का प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री समेत रहेका हिमाल कार्की लगायतकाले पत्रकारहरुलाई सिन्दुर टीका र खादा लगाएर स्वागत गर्दै सफल कार्यकालकालागि बधाई तथा शुभकामना दिएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।