काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेड १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले देशभर विविध कार्यक्रम गरेको छ।
बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कूल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरिएको छ।
सोही अवसरमा, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथामका विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच ‘आर्ट पर अर्थ, कम्ब्याटिङ क्लाइमेट चेन्ज’ शीर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता भएको छ। प्रतियोगितमा कूल ४७६ विद्यार्थी सहभागी भएका थिए।
सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङलाई ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ।
त्यसैगरी, बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचना तथा समाचार प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारहरूलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ले सम्मानित गरेको छ । उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारहरू सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं) र माधव प्रसाद अर्याल (पाल्पा)लाई क्रमशः ३५, २५ र १५ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ।
उपरोक्त दुवै प्रतियोगिताहरूमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरूको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सातवटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति, विभिन्न क्याम्पसमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ।
यस्तै, वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी कार्य, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफामूलक सामाजिक संस्थाहरूलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल माध्यमद्वारा बैंकिङ साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायसँग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरण हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्य गरेको छ।
बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरे। बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापबारे प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी दिए।
उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४१ जना कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा बैंकका सञ्चालक, सेयरधनी, सेवाग्राही तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।