काठमाडौं ।
बिदाको समयमा सञ्चालन गरेर शिक्षकलाई पेल्न थालेपछि नेपाल शिक्षक महासंघ काठमाडौं महानगरले समितिले बहिष्कार गरेको तालिम पछि सञ्चालन गर्ने गरी कामपा पछि हटेको छ ।
गएको आइतबारबाट शुरू भएको तालिम महासंघ आबद्ध शिक्षकले बहिष्कार गरेका थिए । तालिम बहिष्कार गरेपछि कामपा शिक्षा विभाग र आन्दोलनरत समितिबीच वार्ता भएको थियो । त्यसक्रममा समितिले तालिममा सहभागी नहुने अडान राखेपछि सोमबारबाटै तालिम रोकिएको छ ।
मंगलबार कामापा शिक्षा र स्वास्थ्य समितिका संयोजक चिनिकाजी महर्जनको अध्यक्षतामा कामपा शिक्षा विभागका अधिकृतद्वय केशव ज्ञवाली र नेत्रनारायण पौडेल, समितिका अध्यक्ष राजेन्द्र अधिकारी, कामपा सहरी योजना आयोगको तर्फबाट शिक्षा हेर्ने शैलेन्द्र झालगायतसँग भएको वार्तामा सहमति हुन सकेको थिएन ।
तैपनि अध्यक्ष महर्जनले तत्कालका लागि तालिम स्थगित गरी दुई पक्षीय सहमतिको आधारमा मात्र तालिम सञ्चालन गर्ने सहमति गराउनुभएको थियो । संयोजक महर्जनले भन्नुभयो– ‘तालिम सञ्चालन गर्दा दुईपक्षीय सहमति आवश्यक छ, सोही आधारमा तत्कालका लागि तालिम स्थगित गरेका हौं, अर्को मिति कहिले घोषणा गर्ने भन्ने विषयमा दुईपक्षबीच सहमति हुने छ ।’
तालिम बहिष्कार र अर्को मिति तय गर्ने विषयमा समितिले तालिममा सहभागी हुने ५६ माध्यमिक विद्यालयका प्रअको भेला गराएका थियो ।
भेलाले बिदाबाहेकका दिनमा मात्र तालिम दिन उपयुक्त हुने निष्कर्ष निकालेका थिए । माघ ३ गतेबाट तालिम गर्ने तयारी भइरहँदा विभागले निर्णय गर्न सकेको थिएन । पछि बहिष्कार गरेसँगै कामपा शिक्षा विभागले छलफल गर्ने तयारी गरेको छ । समितिको शनिवार बसेको बैठकले निजामती कर्मचारीको घर बिदाको सट्टामा रहेको शिक्षकहरूको जाडो बिदाको सुविधाबाट समेत वञ्चित गर्ने गरी शिक्षा विभागबाट एकांकी ढंगबाट अगाडि सारिएका तालिमसम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो ।
समितिले पुस १८ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने र नगराउने निर्णय गरेको थियो । महानगर समितिका अध्यक्ष राजेन्द्र अधिकारीले प्रअ शिक्षक र सोसँग आबद्ध संघसंस्थासँग सल्लाह नै नगरी गरेको निर्णय कार्यान्वयन नहुने स्पष्ट पार्नुभयो । कामपाले एसईई सुधार गर्न अनिवार्य ५ र १ ऐच्छिक गरी ५ विषयमा तालिम दिने निर्णय गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।