दोलखा ।
सधै ओझेलमा परेको दोलखाको रिकु गाउँमा विस्तारै चहल– पहल बढ्न थालेको छ । गाउँसँगैको पहरामा हाईड्रोपावरको टनेल बन्न लागेपछि गाउँमा चहल– पहल बढेको स्थानीय मेख तमाङले बताए ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने रिकुु जिल्लाको सबैभन्दा दुर्गम मध्यमा पर्ने गाउँ हो । रिकुमा लामाबगर, छ्योत– छ्योत र सिमिगाँउबाट जान सकिने तर तीनै ठाँउबाट जाने बाटो असाध्य अप्ठेरो रहेको स्थानीय मेख तमाङको भनाई छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्र्तगतको रोलवालिङ खोला जलविद्युत आयोजनाको अडिट– १ टनेल गाउँसँगैको पहरामा बन्न थालेपछि भने गाउँमा मानिसहरुको चहल– पहलसंगै लामाबगरबाट आउने पैदलमार्गको स्तरउन्नती समेत हुन थालेको मेख तमाङले बताए ।
अहिले गाउँमा नयाँ डिजाईनका घरहरु बनेको र होम स्टे सञ्चालन तथा होटल– पसल सञ्चालनमा चासो बढेको अर्का स्थानीय महलमान तमाङले बताए । हाईड्रो पावरको काम भै रहेको र लामाबगरबाट रिकु जोड्ने पैदलमार्ग समेत स्तर उन्नती हुनलागेकोले च्छो– रोल्पा हिमताल जाने स्वदेशी एमव् विदेशी पर्यटक यहि गाउँ हुँदै पुग्ने सम्भावना बढेको पहलमानको भनाई छ ।
पर्यटकको समेत आवत– जावत हुनलागेपछि स्थानीयको आर्थिक उन्नतीमा सहयोग पुग्ने अपेक्षा बढेको महलमान बताउछन् ।
२१ सय मीटर उँचाईमा रहेको रिकुुमा २२ घरधुरी रहेको छ । यो गाउँमा करिब ८० जनाको बसोबास रहेको स्थानीय बताउछन् । यो गाउँमा २०१४ सालमा पहिलो पटक दोलखाकै बुलुङबाट मेरो बुबा टेकबहादुर खड्का आएका हुन्, स्थानीय भीमबहादुर खड्काले भने– त्यसको १० बर्षपछि तमाङहरु समेत थपिएर गाउँमा घरहरु बढेका हुन् ।
२०७२ सालको भुकम्प अघि सातघर रहेको रिकुमा भुकम्पपछि परिवार छुट्टीएर २२ घर पुगेको भीमबहादुरले बताए ।
१२ सम्म पास गरेका यो गाउँको वासिन्दा कोही पनि सरकारी सेवामा नरहेको स्थानीय मेख तमाङको भनाई छ । गहुँ, फापर, लसुन, मकै, कोदो, आलु, साग– सब्जि, किवि फल लगायतको उब्जनि हुने रिकुका वासिन्दालाई आफ्नो उत्पादनबाट मुश्किलले छ महिनामात्र खान पुग्ने स्थानीय बताउँछन् ।
रिकु आउन सजिलो बाटो छैन, स्वास्थ्य चौकी नभएकोले कोही विरामी परे जोखिम बाटोबाट २-३ घण्टा हिडाएर नजिकको स्वास्थ्य चौकी लानु पर्छ, विद्यालय नभएकोले बालबच्चा बढाउन पनि समस्या छ– स्थानीय पनमाया तमाङले भनिन् । लामाबगरबाट रिकु जोड्ने पैदलमार्गले आवत– जावत र अरु सबैकुरामा सजिलो हुने पनमाया बताउछिन् ।
रोलवालिङ खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनोज तम्राकार रिकु गाउँको विकास र स्थानीयको जीवनस्तर सुधारको लागि आयोजनाले पैदलमार्ग निर्माण लगायतमा सहयोग गरेको बताउछन् । भौगोलिक हिसाबले दुर्गममा रहेको रिकु गाँउमा छ्योत– छ्योतबाट जोडिने पैदलमार्ग निर्माण, कृषि उत्पादन, गुम्बा तथा मन्दिर निर्माण, खानेपानी लगायतमा पालिकाले सहयोग गर्दै आएको गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की बताउछन् ।
रिकुमा सडक लान सकिन्छ कि भनेर सिमिगाउँ, छ्योत– छ्योत र लामाबगर तीनैतिरबाट सम्भाव्यता अध्यन समेत भै रहेको पालिका अध्यक्ष कार्कीले बताए । रिकु पालिकको दुर्गम मध्यको लुकेको गाउँ भएकोले बजेट विनियोजनमा विशेष ध्यान पु¥याउने गरिएको अध्यक्ष कार्कीको भनाई छ ।
तस्विरहरुः दुर्गम रिकु गाउँ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।