काठमाडौँ।
पब्लिक सूत्रधार बहुउद्देश्यीय सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभाले विधान जोशीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध रुपमा चयन गरेकोछ । शनिवार बनेपामा सम्पन्न पब्लिक सूत्रधारको २४औं साधारण सभाले विधान जोशीको अध्यक्षतामा उपाध्यक्ष उमेश प्रसाद श्रेष्ठ, सचिव निर्मला ताम्राकार बैदार, कोषाध्यक्ष रामशरण हुमागाईका साथ सदस्यहरुमा राजेश चन्द्र प्रधान, विरेन्द्र फैंजु, पारस मणी कायष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा डा. सुदिप हुमागाई सदस्यः निर्मल कर्माचार्य र सुरेशनारायण श्रेष्ठ चयन गरेको छ ।
नवनिर्वाचित समितिलाई निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता बुद्धरत्न मानन्धरले पदभार हस्तान्तरणसहित शपथ ग्रहण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोते श्रेष्ठले पछिल्लो समय सहकारीमा देखा परेका समस्यालाई औल्याउँदै समुदायमा आधारित संस्था राम्रो अवस्थामा रहेको र केही पनि हुन्न भने । उनले पब्लिक सुत्रधारमा ढुक्क भएर बचत गर्न र कारोबार गर्न सकिन्छ । व्याजको लोभमा परेर सहकारी संचालक र सहकारी नबुझी लगानी नगर्न पनि आग्रह गरे । राम्रो काम गरेका सहकारीलाई सरकार र नागरिक दुबैले चिनौ र सर्वसाधारणका माझ पहिचान दिन सक्ने सेवा प्रदान गरौं । सहकारीको सीमा निर्धारण गर्ने तर्फ सरकारको ध्यान पुगोस । यसो गरेमा सहकारीले नमुनारूपी प्रगति गरी राज्यको आर्थिक विकासमा टेवा पुर्याउँन सक्छ । जिल्ला सहकारी संघका तर्फबाट आफूले गर्नुपर्ने काममा सदा तत्पर रहनेछु उनले भने ।
सोही अवसरमा संचालक समितिका अध्यक्ष महेशकुमार कर्माचार्यले आफूले २ कार्यकाल नेतृत्वमा रहेका काम गर्दाको अनुभव र संस्थाको गतिविधिका बारेमा बार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले सानो संख्याबाट शुरु भएको सहकारीमा आज ४ हजार ४ सय २ जना सदस्य संख्या रहेको र बनेपा केन्द्रीय कार्यालय रहेको यो सहकारीको भक्तपुरको सूर्य विनायक र काठमाडौको मध्य वानेश्वरमा शाखा रहेको जानकारी गराए । सोही अवसरमा सचिव तथा नवनिर्वाचित अध्यक्षले बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले यस बर्ष क्षेत्रगत साधारण सभा सम्पन्न गरी केन्द्रीय अधिवेशन गरेको जानकारी गराए ।
त्यसैगरि कोषाध्यक्ष रामशरण हुमागाईले आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै तिनवटै जिल्लामा सफल, सक्षम, सशक्त रहेको पब्लिक सूत्रधार बहुउदेश्यीय सहकारी संस्था लि पनि आर्थिक मन्दीको चपेटामा अछुतो रहन सकेनौ भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका अध्यक्ष भगवती तिमल्सिनाले पछिल्लो समय सहकारी प्रति सरकार र नागरिकको धारणामा आएको परिवर्तनलाई सकारात्मक रुपमा लिई विश्वस्नीय सहकारीका रुपमा अघि बढ्न सकोस भन्ने शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष महेश कुमार कर्माचार्य र हेमा कर्माचार्यको जन्मदिन सोही सभामा केक काटेर मनाइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।