म्याग्दी।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरलाई ‘म्याग्दीको नक्षत्र’ को रूपमा सम्मान गरिएको छ । म्याग्दी जिल्ला, बेनी नगरपालिका– ४, डाँडाखेतमा जन्मिएका कुँवरले दक्षिण कोरियालाई कर्मथलो बनाएर व्यापार, व्यवसाय, र समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका हुन् ।
आठौं म्याग्दी महोत्सवका अवसरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुँवरलाई उक्त सम्मान गरेका हुन् । त्यसक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बसेर पनि मातृभूमिप्रति सेवामा योगदान पु¥याउने, देशको आर्थिक विकास र समाजसेवामा अद्वितीय भूमिका खेल्नुभएकोमा कुवँरको प्रशंसा गरे ।
कुँवरले विदेशमा सिकेको ज्ञान र अनुभवलाई नेपालमा उपयोग गर्न विशेष ध्यान दिएका छन् । वैदेशिक लगानी र आधुनिक प्रविधि नेपाल भित्र्याउँदै उनले ऊर्जा, उद्योग, र रोजगारीका क्षेत्रमा महत्त्वपूर्ण काम गरेका छन् । उनको नेतृत्वमा निर्माणाधीन धौलागिरी हाइड्रोपावर परियोजनाले म्याग्दी क्षेत्रको विकासलाई गति दिन विश्वास लिइएको छ ।
सम्मान समारोहमा अध्यक्ष कुँवरले एनआरएनहरूको नागरिकता र सम्पत्ति खरिदसम्बन्धी रोकिएको कार्यविधिलाई शीघ्र समाधान गर्न सरकारलाई आग्रह गरे। उनले यस विषयमा प्रवासी नेपालीहरूको गम्भीर चासो रहेको उल्लेख गर्दै, “यो समस्या समाधान भएमा विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी र विकासका कार्यहरू गर्न थप उत्साहित हुनेछन्,” भने।
कुँवर हाल धौलागिरी हाइड्रोपावर, हिमालयन सान सोजु, विजे इन्टरनेशनललगायत विभिन्न कम्पनीहरूको अध्यक्ष हुन। उनी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र म्याग्दी प्रवासी संघका संस्थापक पनि हुन। उनको नेतृत्वमा नेपाल र कोरियाबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।