स्याङ्जा।
संघीयताको जग स्थानीय तह हो । स्थानीय तहका हरेक गतिविधिहरुलाई नागरिकहरुले नजिकबाट नियालिरहेका हुन्छन । साथै नागरिक स्थानीय सरकारको सुखदुखका सारथी बन्न चाहन्छन । नागरिकप्रतिको जिम्मेवारी एवं प्रतिवद्धता र आफ्नो कर्मभूमिप्रतिको सपना पुरा गर्न स्थानीय तहका प्रमुखहरुमा समेत दीर्घकालीन सोच, संकल्प र कार्ययोजना हुने गर्दछ । त्यो कार्ययोजना कार्यन्वयन गर्ने एक प्रकारको हुटहुटी नै हुने गर्दछ । त्यो हुटहुटीलाई अनुभूति हुने गरी साकार पार्न असल र काविल प्रशासकीय अधिकृतको खोजीमा समेत हुन्छन स्थानीय तहको राजनीतिक नेतृत्व । त्यस्तै जनता र राष्ट्रको हितमा सेवा गर्ने कसम खाएर सरकारको सिन्दूर लगाएका राष्ट्रसेवकहरु समेत त्यस्तै स्थानीय प्रमुख र पालिकाको खोजीमा हुन्छन ताकी आफ्नो सोच, इमान, क्षमता र दक्षताको भरपुर उपयोग गरी नमुना प्रशासक बन्न सकियोस् । तर विविध कारणले स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत टिक्न सकेका छैनन् ।
स्याङ्जाका केही स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक-कर्मचारीहरुले तलब खान पाएका छैनन् । ठुला योजना संझौता नहुँदा योजनाको काम सुरु हुनै सकेको छैन । सामाजिक सुरक्षा भत्ताको पर्खाइमा रहेका जेष्ठ नागरिकहरु त्यसै अलपत्र परेका छन् । नक्सा पास नहुँदा निर्माण कार्य रोकिएको छ । पछिल्लो समय स्याङ्जा जिल्लाको हरीनाश गाउँपालिका, चापाकोट, भीरकोट र वालिङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरुको छिटो छिटो सरुवा हुने गरेको छ । नयाँ को आउने हुन् कहिले आउने हुन् थाहा छैन । तर बहालवाला अधिकृतहरु पालिकामा हाजिर भएको धेरै दिन नहुँदै बिदा लिएर अन्यत्र सरुवाको खोजीमा मन्त्रालय धाउन थालेका छन् । सामान्यतया कर्मचारी सरुवा नियमित प्रक्रिया हो । आम नागरिकलाई यसबारे त्यति चासो पनि रहँदैन । तर स्याङ्जाका अधिकांश स्थानीय तहमा यो अहिले चर्चाको विषय बनेको छ ।
२०८१ कार्तिक १२ गते प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा सरुवा भएर गएपछि हरीनाश गाउँपालिका २ महिनासम्म प्रमुख प्रशासकीय अधिकृत विहीन हुनपुग्यो । ६४ दिनपछि पुस १६ गतेबाट शिवकुमार पौडेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि अहिले बल्ल पालिकाका कामहरु सुचारु भएका छन् । मंसीरमा प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल सरुवा भएपछि चापाकोट नगरपालिकाले १ महिनापछि मात्र प्रशासकीय अधिकृत पाएको छ । चापाकोटमा पुस २० गतेबाट मात्र रमेश गौतमले प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भै कामकाज सुरु गरेका छन् ।
२०८१ असोज ६ गते धर्मराज ढुंगाना सरुवा भैसकेपछी प्रमुख प्रशासकीय अधिकृतको रुपमा भीरकोट आएका थमनसिंह गौतम १ महिना पनि बसेनन् । पुस २४ गते तानसेनबाट सरुवा भै भीरकोट हाजिर भएका हरीराम नागिला पनि आएको केही समयमै बिदामा बसेका छन् । तेजराज शर्माको सरुवा भएपछि केही समय खाली रहेको वालिङमा असोज १३ गतेदेखि गंगालाल सुवेदी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । उनी पनि पाएसम्म सरुवा हुने मनस्थितिमा देखिन्छन् । केन्द्रको नीति गतिलो नभएको र आफूखुशी मनोमानी गर्न नपाएर प्रमुख प्रशासकीय अधिकृतहरु हिँड्ने गरेको जनप्रतिनिधिहरुको आरोप छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।