काठमाडौं ।
सिराह, हम्ला, सुनसरी र तनहुँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सिराहा, लहान नगरपालिका-१२ बाटिका चोकस्थित सडकमा प्र.२-०१-००१ क ००७९ नम्बरको बसले बा.१८ प ८३२५ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका-६ बस्ने ४० वर्षीय किरण थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिसिटी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुम्ला, चंखेली गाउँपालिका-१ बर्दिस्थित सडकमा बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु.४ त ७७२० नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बोहरावाडा बस्ने ३५ वर्षीय तुले बोहराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई उपचारको लागि ईकाई प्राथमिक स्वास्थ्य केन्द्र रिमी पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-११ सिमाना चोकस्थित सडकमा प्र.१-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८६ वर्षीय वीर बहादुर लामिछानेको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, म्याग्दे गाउँपालिका-६ छबिसेस्थित सडकमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बा.४ ख ५८०१ नम्बरको बसबाट लडेर बसका सहचालक कास्की पोखरा महानगरपालिका-२८ टाइगर टप बस्ने २६ वर्षीय संजिव महराको आइतबार दिउँसो मृत्यु भएको छ । बसबाट लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।