ललितपुर।
बहुसंख्यक जनताको कमजोर आर्र्थिक अवस्था, र सारभुत लोकतन्त्रको अभ्यास बलियो नहुँदा मुलुकको राष्ट्रिय सुरक्षामा अनेक चुनौती उत्पन्न भएको सम्बद्ध वक्ताहरुले बताएका छन् ।
राष्ट्रिय बौद्धिक केन्द्रले ललितपुरमा आयोजना गरेको राष्ट्रिय सुरक्षा सम्बन्धी विचार गोष्ठीमा उनीहरुले सो कुरा बताएका हुन् ।
सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले नेपाल भारत सम्बन्धको विषयमा तयार गरिएको ईपीजी प्रतिवेदन सरकारले कार्यान्वयन गर्न नचाहनेको बताउनुभयो।
नेपाल र भारतबीच असमानलाई अन्त्य गर्ने सम्बन्धी विषय रहेको सो प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने सवालमा सरकार गम्भीर नभएको पनि उपाध्यायको भनाई रहेको छ । उहाँले मुलुकको खुल्ला सीमाना व्यवस्थित हुन नसकेको, राष्ट्रियताको भावनामा विभिन्न तरिकाले प्रहार हुँदा राष्ट्रिय सुरक्षा स्थिति कमजोर बनेको बताउनुभयो।
सीमाविद् तोयानारायण बरालले नेपालको चुच्चे नक्साले समेटिएको भूभागलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारले उच्च कुटनीतिक क्षमता प्रदर्शन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सुरक्षालाई नेपालको भौगोलिक अखण्डता,राष्ट्रियता, स्वाधीनता, स्वाभिमान,नेपालको हकहितको रक्षा, सीमानाको सुरक्षा र आर्थिक समृद्धिको अवधारणाबाट व्याख्या गर्नुपर्ने सीमाविद् बरालको जोड रहेको छ ।
सो अवसरमा केन्द्रका अध्यक्ष पवन श्रीवास्तवले राष्ट्रिय सुरक्षा बलियो बनाउन देश र जनताको सर्वोेत्तम हित र अधिकारको सही अभ्यास गराउनुपर्ने खाँचो औल्याउनुभयो। अध्यक्ष श्रीवास्तवले बहुसंंख्यक जनतामा देखिएको निराशा, विदेशीने क्रम, देशप्रेमको भावना कमजोर बन्दै गएको, राजनीतिक दलहरुमा देखिएको संकिर्ण स्वार्थले गर्दा मुलुक अप्ठ्यारोमा परेको बताउनुभयो । देश र जनतामा आइपरेको संकटसंग जुध्न बुद्धिजीवीहरु दलगत, व्यक्तिगत स्वार्थबाट माथि उठ्न्पर्ने मा पनि अध्यक्ष श्रीवास्तवको जोड रहेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्यले दलगत, गुटगत स्वार्थले राष्ट्रिय स्वार्थ कमजोर बन्दै गएकोमा केन्द्रीत गर्दै आआफ्नो धारणा राख्नुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।