![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4a8e0a587e0a4aae0a4bee0a4b2e0a4b2e0a4bee0a488-e0a4ace0a499e0a58de0a497e0a4b2e0a4bee0a4a6e0a587e0a4b6-e0a4b0-e0a4b6e0a58de0a4b0.jpg)
काठमाडौं ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालमा नियोजित रूपमा राजनीतिक अस्थिरता फैलाउने प्रयास भइरहेको बताएका छन्।
शनिबार काठमाडौं नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा आयोजित प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले त्यसकै परिणामस्वरूप नेपाललाई बङ्गलादेश र श्रीलङ्का जस्तै बनाइदिने धम्की आउने गरेको बताए। यो विश्व राजनीतिको प्रभाव पनि भएको उनको धारणा छ।
नेपाललाई बङ्गलादेश र श्रीलङ्का बनाइदिन्छौँ भन्दै नेताहरूलाई गाली गरेर गन्तव्यमा नपुगिने उनले बताए। देश बनाउन नागरिकमा आशा जगाउनु पर्ने पोखरेलको धारणा छ।
राष्ट्र निर्माणमा आम नागरिकको सहभागिता जोड्नु पर्ने पोखरेलले बताए। राज्यले नागरिकको लागि लोक कल्याणकारी काम गर्नुपर्नेमा उनको जोड छ। ‘राज्यलाई कमजोर पारेर व्यक्ति बलियो बनाएर समाजवादमा पुग्न सकिँदैन, समाजवादमा जान बलियो राज्य आवश्यक पर्दछ’, उनले भने ।
पोखरेलले यसको लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताए। त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको पोखरेलको धारणा छ। यसको लागि पार्टीलाई बलियो बनाउनु पर्ने र त्यसका लागि पाटी भन्दा बाहिर रहेको प्रगतिशील शक्तिलाई पार्टीमा जोड्नु पर्ने पोखरेलले बताए।
पोखरेलले दुई वटा ठुला पार्टी राजनीतिक स्थिरता दिन एक ठाउँमा आएका बताए। ठुला पार्टी सधैँ एक ठाउँमा बस्न नसक्ने बताउँदै पोखरेलले आउने निर्वाचनका कांग्रेस र एमाले छुट्टा छुट्टै चुनाव लड्ने स्पष्ट पारे।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।