![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b8e0a4ace0a588e0a496e0a4bee0a4b2e0a587-e0a4ade0a58de0a4b0e0a4b7e0a58de0a49fe0a4bee0a49ae0a4bee0a4b0e0a580-e0a4aee0a4bee0a49b.jpg)
हेटौंडा ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पछिल्लो समय सानासाना भ्रष्टाचारका मुद्दामा हात हालेर संख्यात्मक विवरण पेश गर्ने तर, ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिच्किचाउने आरोप आइरहेको भन्दै ती आरोपलाई गलत साबित गर्न अख्तियारले सानाठूला सबैखाले भ्रष्टाचारी माछाहरूलाई पक्रिनुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित समारोहमा प्रदेश प्रमुख देवकोटाले अख्तियार दुरुपयोग गरी देश, जनता र सुशासनविरुद्ध नैतिकता र कानुनविपरीत जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध अख्तियारले गरेका कामकारबाहीबाट देशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बेइमानीविरुद्ध कदम चाल्ने कुरामा खुट्टा नकमाउन पनि आग्रह गर्नुभयो ।
सकारात्मक र महसुस गर्न सकिने परिणामजन्य कार्यका लागि हामीमा परिवर्तन जरुरी छ । हाल युवामा देखिएको मुख्य निराशा कार्यसम्पादनमा देखिएको सुस्तता हो, प्रमुख देबकोटाले भन्नुभयो, –“यसले परिणाममुखी सोच राख्ने सबैलाई निराश बनाउँदछ । अख्तियारी वा निर्णय गर्ने हैसियतका सम्पूर्ण व्यक्तिहरूलाई नियमितरूपमा सम्भावित भ्रष्टाचार रोक्न परामर्श कक्षाहरू सञ्चालन गरिनुपर्ने उहाँको भनाइ छ ।”
उहाँले जनताको निराशा चिर्दै भ्रष्टाचारविरुद्ध खरो उत्रिएर जनताको विश्वास जित्न सक्नुपर्ने बताउँदै राष्ट्रमा भ्रष्टाचार हुन नदिन इमान्दारिता, पारदर्शिता र सुशासनका विषयवस्तु विद्यालय र कलेजका पाठ्यक्रममा वृहत् रूपमा समावेश गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेशका विभिन्न जिल्लाहरूमा बढ्दै गएको भ्रष्टाचारजन्य अपराध अनुसन्धानको घेरामा राखी न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकार लागि परेको बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।