
बुटवल।
लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात मन्त्रालयले बिहीबार बुटवलमा आयोजना गरेको पर्यटन नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सम्भावना भएको र प्रतिफल आउने कार्यक्रममा मात्र पर्यटनको बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका छन् । तिनै तहका सरकारले पर्यटनको नाममा साना आयोजनाहरुमा समेत बजेट छर्ने गरेको भन्दै त्यसले प्रतिफल नदिने उनीहरूको भनाइ छ । सहभागीले पर्याप्त अध्ययन गरेर मात्र पर्यटनको विकास र पूर्वाधारको कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सम्भावना भएको महत्वपूर्ण ठाउँमा मात्र पर्यटन कार्यक्रम केन्द्रीत हुने बताए। उनले पर्यटक भित्राउन र रोजगारी सिर्जना हुन सक्ने ठाउँको मात्र योजना ल्याउने जिल्ला र पालिकाहरुलाई आग्रह गरे । मन्त्री न्यौपानेले पर्यटन क्षेत्रको विकासको लागि तीनै तहका सरकारको आ आफ्नै दायित्व भएको भन्दै संघ सरकारले दस दस लाखका योजना बाड्न नसुहाउने उल्लेख गरे। बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा प्रदेश सरकारको भूमिका खासै नभएपछि प्रवर्द्धनको क्षेत्रमा आफूहरुले ध्यान दिएको मन्त्री न्यौपानेले बताए । भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकारले निरन्तर दबाब दिने उल्लेख गरे।
कार्यक्रममा पर्यटन नीतिको मस्यौदा प्रस्तुत गर्दै पर्यटन विज्ञ रमेशकुमार अधिकारीले सम्भावना बोकेका र आकर्षणको पहिचान गरि पर्यटकीय गन्तव्य सूचीकृत गर्नुपर्ने, युवाहरुलाई पर्यटन व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने, सार्वजनिक निजी साझेदारीमा पर्यटनका लागि जनशक्ती उत्पादन गर्ने, पर्यटन बजारिकरणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
पर्यटन मन्त्रालयका प्रवक्ता गणेश घिमिरेले प्रदेश सरकारले गरेका योजना तथा कार्यक्रमबारे उल्लेख गरेका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उत्तर र दक्षिणका गन्तव्यलाई जोड्ने गरी उपमहानगरले कार्यक्रम गर्ने जानकारी दिए । उपमहानगरले कालिगण्डकी करिडोरमार्फत भारतदेखी मुक्तीनाथसम्म र चिनको कोरोलाबाट लुम्बिनीसम्मको धार्मिक यात्रा गर्न लागेको उनले बताए ।
पर्यटन परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोसीले पालिका र जिल्ला स्तरमा पनि पर्यटन विकास समिति बन्नुपर्ने बताए ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राइले बृहत्तर लुम्बिनी क्षेत्रलाई समेटेर पर्यटकीय नीति बन्नुपर्ने धारणा राखे । संस्कृति तथा पर्यटन विद डा. गितु गिरिले पर्यटकीय सेवा गुणस्तरीय हुनुपर्ने भनाइ राख्नु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।