काठमाडौं।
विश्वव्यापी रुपमा कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगसँगै कूटनीतिमा पनि एआईको महत्त्व बढ्दै गएको बिज्ञहरुले बताएका छन् । उनीहरुले पछिल्लो समय एआईको बढ्दो प्रयोगसँगै नेपाललाई अन्तर्राष्ट्रिय एआई हबको रुपमा विकास गर्न सकिने सम्भावना पनि बढ्दै गएको धारणा व्यक्त गरेका छन् ।

सोसल इन्नोभेसन र फरेन पोलिसी केन्द्र (सेसिफ) ले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा साइबर सुरक्षाविज्ञ डा. राजीब सुब्बाले नेपालको असंलग्न विदेश नीतिका कारण आफूलाई अन्तर्राष्ट्रिय एआई हबको रुपमा विकास गर्न सक्ने बताए । उनले भने– “नेपाल तटस्थ राष्ट्र भएको कारण जसरी दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को मूख्यालय काठमाडौंमा राखियो, त्यसैगरी तटस्थता कायम राखेर विश्वास दिलाउन सके अन्य देशका लागि एआई हब पनि बन्न सक्छ ।” उनले भूराजनीतिमा सुरक्षा चासो प्रमुख हुने भएकोले स्थानले पनि महत्त्व पाउने बिचार व्यक्त गर्दै भने –“अब हाम्रो परराष्ट्र नीतिमा पनि परिमार्जन गर्ने बेला आयो । जसरी हाम्रो परराष्ट्र नीतिमा हाम्रो भूमि कुनै देशका विरुद्धमा प्रयोग हुन दिने छैनौं भनिएको छ, अब डिजिटल डिभाइस पनि अन्य देशको विरुद्ध प्रयोग हुन दिने छैनौ भन्ने विश्वास दिलाउनुपर्छ ।” उनले यसो गर्दा अन्य राष्ट्रहरुलाई उनीहरुको एआईको हब नेपालमा राख्न उपयुक्त छ भन्ने सन्देश जाने उनको तर्क थियो ।
यसको साथै साइबर सुरक्षाविज्ञ डा. राजिबले डिजिटल सुरक्षाका लागि सरकारी निकाय र विशेषगरी परराष्ट्र मन्त्रालयका साथै कुटनीतिज्ञहरुले जीमेल, ह्वाट्सएप जस्ता विदेशी प्रविधिहरुको प्रयोगबाट टाढै बस्नुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा “कृत्रिम बौद्धिकता र कूटनीति ः नेपालको एआई कूटनीतिको अवस्था” शीर्षकमा सिसेफले गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा नेपालले डिजिटल युगमा आफ्नो राष्ट्रिय हितलाई प्रवर्धन गर्दै दिगो विकासलाई अघि बढाउन सक्ने निचोड निकालिएको थियो । प्रतिवेदनमा भारत र चीनजस्ता छिमेकी देशहरुसँगको सम्बन्धलाई ध्यानमा राख्दै नेपालले एआई कूटनीतिमा ध्यान केन्द्रित गर्दै त्यसबाट अधिकतम लाभ लिनुपर्नेमा जोड दिइएको छ ।
प्रतिवेदनमा एआई कूटनीतिलाई भूराजनीतिमा एआईको प्रभावलाई सम्बोधन गर्ने, कूटनीतिक एजेन्डामा एआईलाई प्राथमिकता दिने र सरकारको विकास लक्ष्यहरुसँग मेल खाने राष्ट्रिय एआई रणनीति बनाउने, शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप न्यूनीकरण र सांस्कृतिक सम्पदा संरक्षणलगायतका एआईले सकारात्मक प्रभाव पार्नसक्ने प्रमुख क्षेत्रहरुको पहिचान गरी अघि बढ्न सुझाव दिइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।