छेन्डु, चीन ।
विकासको लागि प्रविधिसंगै सामुहिकता र प्रतिवद्धता आवश्यक हुन्छ भन्ने उदाहरण चीनको सिचुवान प्रान्त स्थित छेन्डुको चान्सी चोन गाउँ बनेको छ । सामुहिकता र प्रतिवद्धताकै कारण चान्सी चोन गाँउले झण्डै २० बर्षको अवधिमा आर्थिक एवम् सामाजिक रूपमा निक्कै फड्को मारेको चान्सी चोनका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सचिव काओ बताउनु हुन्छ ।
२० बर्ष अघिसम्म यो गाँउका वासिन्दाले अलग( अलग ढङ्गले खेतिपाति र व्यवसाय गर्दै आएका थिए । त्यसले उनीहरूको आर्थिक अवस्थामा सुधार हुन सकेको थिएन । तर अहिले हरेक परिवार सम्पन्न छन्- सचिव काओले भन्नु भयो । चान्सी चोनमा अहिले समाजवादी अभ्यास सुरू भएको छ, सचिव काओले भन्नुभयो- अहिले सामुहिक खेती र व्यवसाय सुरू भएपछि रोजगारीको लागि बाहिर जानुपर्दैन ।
चान्सी चोनका स्थानीयले अहिले बाहिरका व्यवसायीहरू लाई खेतीको लागि सामुहिक रूपमा जमिन भाँडामा दिएका छन् । त्यस बापत उनीहरूले मासिक तीन देखि १० हजार आरएमवि सम्म लिने गरेका छन् । गाँउमै व्यवसायीक खेती सुरू भएपछि रोजगारीको लागि अन्यत्र जानुपर्ने अवस्था समेत नरहेको सचिव काओ बताउनु हुन्छ । चान्सी चोन गाँउमा १२ सय घर धुरी र ४५ सय जनसंख्या रहेको छ । यो गाँउमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का एकसय ७० जना सदस्य रहेको र पाँच जनाको सिपिसी गाउँ कमिटी रहेको सचिव काओको भनाई छ ।

समाजवादी गाँउको अगुवाई सिपिसी कमिटीले गरेको सचिव काओले बताउनु भयो । गाँउका प्रत्येक परिवारको लागि सिपिसीले निश्चित शुल्क लिएर घर बनाई दिएको र सामुहिक आर्थिक अभियानको नेतृत्व पनि सिपिसीलेनै गरेको छ । स्थानीय लिउ सो मिङ चान्सी चोन समाजवादी गाउँ बनेपछि सबैको आर्थिक विकास भएको र रोजगारीको लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनु हुन्छ ।
चान्सी चोनमा विगतमा पानी, विजुली जस्ता आधारभूत कुराको समस्या देखिएकोले सामुहिक अभियान सुरू भएको स्थानीय लिउ सो मिङ बताउनु हुन्छ । सिपिसीले प्रत्येक पाँच बर्षमा परिवार संख्या गणना गरि सोहि अनुसार घर, जग्गा-जमिन लगायतको व्यवस्थापन गर्ने र सामुदायीक रूपमा शिक्षा, स्वास्थ्य जस्ता कुरा सञ्चालन गरिने सिपिसी सचिव काओको भनाई छ ।
चान्सी चोन समाजवादी गाउँ भएपछि महामहिम राष्ट्रपति सि जिन फिङले गाँउको भ्रमण गर्नु भएको र गाँउको अभियान र विकास बारे चासो राख्नु भएको काओले बताउनु भयो । महामहिम राष्ट्रपतिको भ्रमण पछि स्थानीय उत्साहित भएको सचिव काओ बताउनु हुन्छ ।
समाजवादी गाउँ चान्सी चोनको मुख्य आम्दानिको स्रोत मस्रुम खेती र पर्यटन व्यवसाय रहेको यहाँका स्थानीय बताउछन् । यो गाँउमा बार्षिक ११ लाख भन्दा बढी पर्यटक भित्रने गरेको सचिव काओले बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।