
लन्डन, (एजेन्सी) ।
गत संस्करणको विजेता रियाल मेड्रिडले युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सहरी प्रतिद्धन्द्धी एटलेटिको मेड्रिडलाई हराएको छ । मंगलबार स्यान्टियागो बर्नाबेउमा रोड्रिगो र ब्राहिम डियाजले गोल गरेपछि रियालले एट्लेटिकोलाई २–१ ले हरायो । एट्लेटिकोका लागि जुलियन अल्भारेजले गोल गरेका थिए ।
खेलको चौथो मिनेटमै रोड्रिगोको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले फेडेरिको भाल्भर्डेले पास गरेको बललाई गोलमा परिणत गरेका थिए । तर, एटलेटिकोले ३२ औ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । जाभी गालानको पासलाई सदुपयोग गर्दै अल्भारेजले एटलेटिकोका लागि गोल गरे ।
५५औं मिनेटमा डियाजले गोल गर्दा रियाल २–१ ले अगाडि बढ्यो । यस पटक फेल्र्यान्ड मेन्डीले गोलको अवसर सिर्जना गरेका थिए । यो स्कोर अन्तसम्म रहँदा रियालले पहिलो लेगमा एडभान्टेज लिएको छ । दोस्रो लेग एटलेटिकोको घरेलु मैदानमा वान्डा मेट्रोपेलिटानोमा हुनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।