काठमाडौं ।
दुई दिनसम्म चलेको एनसीसी जुनियर चेकमेट चेस टुर्नामेन्ट–२०२५ मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । एनसीसी शिक्षा तथा खेलकुद समितिद्वारा हिमालयन एकेडेमी र माइस इभेन्ट्सको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा २४ विद्यालयका १०१ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्मका गरी दुई श्रेणीमा छात्रछात्राको छुट्टाछुट्टै समूह बनाएर गराइएको प्रतिस्पर्धामा कक्षा ३ देखि ५ सम्म छात्रातर्फ फ्युचर स्टार एकेडेमीकी ग्लोसी श्रेष्ठले उपाधि जितिन् । त्यसैगरी सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी सुभानी राणाले द्वितिय र अन्नपूर्ण माविकी टिस्टिना बस्नेतले तृतीय स्थान हासिल गर्न सफल भए । सोही समूहको छात्रातर्फ अन्नपूर्ण माविका युनिश खड्का प्रथम, संस्कृतिका सम्भव थुलुङ द्वितिय र ग्रिनल्यान्डका सुलभ पन्थी तृतिय भएका छन् ।

कक्षा ६ देखि ८ सम्मको समूहमा छात्रातर्फ मार्भलसकी निहाना श्रेष्ठ प्रथम भइन् भने अन्नपूर्ण माविकी ओजश्वी श्रेष्ठ द्वितिय र डिभाइनकी जेनिशा न्यौपाने तृतीय भएकी छिन् । छात्रतर्फ निसर्ग बाटिकाका सात्विकमान तुलाधर, आयान जोजी र एयिन पब्लिकका दिपन मैनाली क्रमशः प्रथम द्वितिय र तृतीय भएका छन् ।
प्रतियोगितामा समग्र प्रदर्शनको आधारमा अन्नपूर्ण मावि शीर्षस्थानमा रहेको थियो भने सिद्धार्थ वनस्थली दोस्रो र निसर्ग बाटिका तेस्रो स्थानमा रहेको थियो । स्वीस प्रणालीमा छात्रतर्फ ६ राउन्ड र छात्रातर्फ ४ राउन्ड खेलाइएको उक्त प्रतियोगिताका विजेताहरुलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र एनसीसी शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशीले पुरस्कृत गरे ।
पुरस्कार वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजवंशीले बौद्धिक खेलकुद र युवा विकासको प्रवद्र्धनमा एनसीसीको निरन्तरता रहने जानकारी दिंदै चेसले छात्रछात्रामा बाल्यकालदेखि नै गम्भीर सोच र निर्णय क्षमता विकास गर्न मद्दत पुग्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।