
भैरहवा ।
रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रका बिच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुद्घाटन गर्नुभएको छ ।
भवनको उद्घाटन कार्यक्रममा बोल्नुहुदै गृहमन्त्री रमेश लेखकले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताउनुभयो । मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उहाँले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिनुभयो । “पछिल्ला दिनमा सबै ठाउँँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ ।
हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ ।” गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताएका बताउनुभयो । उहाँले कर्मचारीहरुको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गर्नुभयो ।
“अध्यागमन भनेको मुलुकको ऐना हो”, उहाँले भन्नुभयो, “कर्मचारीहरुले सेवा दिँदा सभ्यता र विनम्रता पूर्वक ढंगले दिनुपर्छ । कहिलेकाही पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन । यस्तो छुट कसैलाई पनि छैन ।” उहाँले कार्यालयहरुमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने जनाउनुभयो । “त्यसैले पर्यटनको बिकास गर्न पनि सबैलाई राम्रो र असल व्यवहार गर्न जरुरी छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।
उहाँले नेपालीहरु संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका मान्छे भएको जनाउँदै अध्यागमनमा जस्तो व्यहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताउनुभयो । गृहमन्त्री लेखकले वर्तमान सरकार बनेको आठ महिना हुन लागेको र सरकारले समृद्धिलाई पछ्याइरहेको जनाए । ‘यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “परिणाम तत्काल नदेखिए पनि विस्तारै यसको रिजल्ट आउँछ ।” सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री लेखकको भनाई छ ।
पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरु देखा परेको उहाँँको दावी छ । उहाँले सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको समेत जनाउनुभयो । “हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौं, ती अध्यादेशमा समेटिएका विषयवस्तुप्रति सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानु पर्ने धारणा राखिरहेका छन्”, उहाँले भन्नुभयो । लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दावी गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको सौन्दर्यकरणमा लागिपरेको जनाउनुभयो । सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको उहाँको भनाई छ । उहाँले गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा चल्दा र लुम्बिनीको विकास हुँदा यसले पुरै देशको विकासमा प्रभाव पार्नसक्ने बताउनुभयो । “यी ठाउँको विकास हुँदा मुलुकको पर्यटन क्षेत्रले फड्को मार्नसक्ने धेरै आधार छन्”, उहाले भन्नुभयो ।
भ्याटसहित १० करोड २५ लाख लागतमा कार्यालय भवन निर्माण गरिएको हो । भगवती गौरीशंकर जेवीले निर्माण गरेको उक्त भवन बेसमेन्टसहित ६ तल्लाको छ । अपांगमैत्री र भूकम्प प्रतिरोधी रहेको यो कार्यालय भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ । यहाँबाट विदेशी नागरिकलाई आगमन, प्रगामन, पर्यटक भिसा जारी र नविकरण गर्ने, एनआरएन भिषा जारी र नविकरण लगायतका काम हुँदै आएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।