
इलाम ।
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपमा बिभागिय टोली नेपाल एपीएफ फुटबल क्लब विजेता बनेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले अर्को बिभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराएको हो । विजेता टोलीका लागि गिता राना र सबिता राना मगरले गोल गरेका थिए । आर्मीका लागि भने बिमला चौधरीले एक गोल फर्काइन् ।
खेलको २३ औं मिनेटमा गिताले पेनाल्टीमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । सपना लामाले रश्मि घिसिङलाई पेनाल्टी बक्सभित्र लडाएपछि एपीएफले पेनाल्टी पायो । त्यसको सदुपयोग गिताले गरिन् ।
पहिलो हाफमा १–० को अग्रता लिएको एपीएफले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनायो । ६० औं मिनेटमा अनिता बस्नेतको क्रसलाई सदुपयोग गर्दै सबिताले पेनाल्टी क्षेत्रबाट गोल गरेकी थिइन् ।
आर्मीकी बिमलाले ७० औं मिनेटमा गोल गर्दै खेलमा फर्कने सक्ने अवस्था बनाइन् । तर, पटक पटक कोशिस गरेपनि सफल नबन्दा आर्मी खेलमा फर्कन सकेन र एपीएफलाई उपाधि सुम्पन्न बाध्य बन्यो ।
पुरस्कार
एपीएफले ४ लाख र आर्मीले २ लाख नगद पुरस्कर प्राप्त गरे । बिधागत पुरस्कारमा एपीएफकै वर्चश्व रह्यो । सर्वोत्कृष्ट खेलाडी अनिता बस्नेत घोषित भइन् भने रेणुका नगरकोटी उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ता रश्मि घिसिङ बने ।
प्रतियोगिताभर ७ गोल गरेकी रश्मिले मदर टेरेसा एफसी भारत विरुद्ध दोहोरो ह्याट्रिक गरेकी थिइन् । यस्तै, आर्मीका अन्जना राना मगर र डिफेन्डर बिमला बिके क्रमशःः गोलकीपर र डिफेन्डरमा उत्कृष्ट भए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।