काठमाडौँ
विश्व मिर्गौला दिवस २०२५ नेपालमा होली पर्वका दिन परेकाले एक दिन अघि बुधबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र सहितका मिर्गौला रोगको उपचारमा सरोकार राख्ने निकायको नेतृत्वमा मिर्गौला प्रत्यारोपित व्यक्तिहरु र स्वास्थ्यकर्मी, नागरिक समाज, पत्रकारहरुबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ ।
उक्त प्रतियोगितामा स्वास्थ्यकर्मी, नागरिक समाज, पत्रकारहरुको समूहको नेतृत्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए । यता प्रत्यारोपित समूहको नेतृत्व मिर्गौला प्रत्यारोपित व्यक्ति झङ्क रावलले गरेका थिए ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा विहान साढे ९ बजे सुरु भएको ४० मिनेटको मैत्रीपूर्ण खेलमा दुबै समूहले समान २ – २ गोल गरेका थिए ।

मैत्रीपूर्ण खेलमा आयोजकले दुबै टोलीलाई बिजेता घोषणा गरेपछि दुबै टोलीले संयुक्त रुपमा कप चुमेका थिए ।
विगत बर्षहरुको तुलनामा यो बर्षको खेलमा स्वास्थ्यकर्मी, नागरिक समाज, पत्रकारहरुपनि फुटबल खेलको तयारी अवस्थामा रहेको देखिन्थ्यो भने मृगौला प्रत्यारोपित समूहमा पनि युवाहरुको सकृयता र प्रतिस्पर्धा बलियो रहेको थियो ।
खेलको पहिलो सत्रमै खेलकुद मन्त्री चौधरी खेलकै क्रममा मैदानमा घुडामा सामान्य दुखाई भएपनि उपचारपछि पुनः खेललाई निरन्तरता दिएका थिए ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रत्यारोपणमा सरकारले सक्दो सहयोग गरिरहेको र भविष्यमा प्रत्यारोपण गर्ने अवस्था कमी ल्याउँन खानपान र व्यायाममा ध्यान दिन आग्रह गरे । उनले सचेतना बढाउनु पर्ने जीवनशैली परिवर्तन गर्नुृका साथै नियमित स्वास्थ्य जाँच गर्न आग्रह गरे । उनले यस्ता कामका लागि लागि प्रत्यारोपण केन्द्र, स्वास्थ्य संस्था, शैक्षिक पाठ्यक्रममा समेत समावेश गरि सकारात्मक भूमिका खेल्न सक्ने बताए ।

सो अवसरमा बोल्दै प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अङ्ग प्रत्यारोपण गरेका व्यक्ति पनि नगरेकाहरु भन्दा कम छैनन् भन्ने सन्देश दिनका लागि खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको बताए ।‘हामीले खेल मार्फत अङ्ग फेल भएका व्यक्तिहरुलाई प्रत्यारोपणका लागि प्रोत्साहन गरेका हौँ । सचेतना जगाएका हौँ,’ उनले भने ।
डा श्रेष्ठका अनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । पछिल्लो समय मिर्गौला रोगको प्रकोप पनि बढी रहेको छ । दिवसका अवसरमा रोगको समयमै पहिचान र उपचार तथा रोकथामका महत्वपूर्ण उपायबारे सबैलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको हो ।
सोही अवसरमा लोकप्रिय गायक प्रकाश सपुतले सांगितिक प्रस्तुतिले चिकित्सक, स्वास्थ्यकर्मी,प्रत्यारोपित समूह,पत्रकार, सहभागी सम्पूर्णलाई मैदानमा गित गाएर आफूसँगै छमछम नचाएका थिए ।
सोही अवसरमा मिर्गौला प्रत्यारोपित समाजको तर्फबाट मृर्गाैला प्रत्यारोपणविज्ञ डा पुकारचन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।
विश्व मृगौला दिवस प्रत्येक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ । यसपटक बिहीबारका दिन होली पर्व परेकोले अघिल्लो दिन नै विविध कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

यस पटक विश्व मिर्गौला दिवसको नारा “मिर्गौला स्वास्थ्य बारे शुरुमै थाहा पाउँ” भन्ने रहेको छ । ललितपुरको कृष्ण मन्दीरबाट प्रभातफेरिबाट शुरु गरिएको जनचेतना कार्यक्रम नेपाली सेनाको खेल मैदानमा पुगी फुटबल लगायत विविध कार्यक्रममा परिणत भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।