
सिराहा।
सिराहामा नक्कली बुवा बनेर भारतीय नागरिकलाई नागरिकता बनाउने अमानत मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरिकता दिलाउने नरहा गाउँपालिका- ३ खोरियाका अमानत मियालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएको हाे ।
वडाले सिफारीसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरिएको थियो । नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मियालाई नियन्त्रणमा लिए पनि विभिन्न राजनीतिक दबाबका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानीयहरुको आरोप छ। नेपालमा सानालाई ऐन ठुलालाई चैन भनेझै यो घटनाक्रमले देखाएको स्थानीयहरुको भनाई छ।
भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढवर्ष पहिले नै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, प्रशासन कार्यालयले कुनै चासो देखाएनन्। आर्थिक प्रभाव र राजनीतिक दबाबका कारण कार्यवाहीको प्रक्रिया रोकिएको थियो।
न्युज कारखाना लगायत विभिन्न मिडियामा समाचारहरु सम्प्रेषण भएपछि सिराहा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले समेत सदनमै अबाज उठाएका थिए। सदनमा अबाज उठेपछि कार्यवाहीको प्रक्रिया अगाडी बढाइएको स्रोतको दाबी छ।
सिराहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले बताए । यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।
नरहा गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुषतम अन्सारी र वडा सचिव रामदेव मण्डलले भारतीय नागरीकसँग दुईलाख भारतीय रुपैयाँ लिएर नागरिकताको सिफारिस गरेको विषयमा न्युज कारखानाले फागुन १२ गते पहिलो पटक समाचार सम्प्रेषण गरेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।