
दोलखा।
गीतकार, समाजसेवी एवम् एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलामा चढाउन ५२ केजीको घण्टा र उक्त घण्टा राख्न आवश्यक पर्ने सामग्री उपलब्ध गराएका छन् ।
समाजसेवी उप्रेतीले ५२ केजीको उक्त घण्टा र आवश्यक सामग्री सङ्गितकार एवम् पत्रकार प्रविण प्रसाद थपलियालाई हस्तान्तरण गरेका छन् । धार्मिक एवं पर्यटकीय केन्द्र शैलुङमा रहेको शैलुङ्गेश्र महादेव मन्दिर तथा भीमसेन शिला तरवारमा आगामी २०८२ बैशाख– १ गते हुने सामूहीक लघुरुद्रीको अवसरमा समाजसेवी शोभित उप्रेतीबाट प्राप्त घण्टा भीमसेन शिला तरवार रहेको स्थानमा राखिने पत्रकार थपलियाले बताए ।
घण्टा हस्तान्तरणको अवसरमा समाजसेवी एवम् गीतकार शोभित उप्रेतीलाई सामूहीक लघुरुद्री आयोजकको तर्फबाट सम्मान गरिएको थियो ।
किंवदन्ती अनुसार द्वापर युगमा भीमसेन शैलुङको बाटोहुदै नेपाल मण्डल प्रवेश गर्नेक्रममा चार हजार आठ सय मिटरको उँचाईमा रहेको शैलुङ डाँडामा तरवार (खड्ग) राखेर विश्राम गरेको र तरवार त्यही छोडेका थिए । त्यस यता स्थानीयले भीमसेन शिला तरवारलाई पूजा गर्दै आएका छन् ।
बैशाख– १ गते हुने लघु रुद्री पुजामा शैलुङ्गेश्वर महादेव मन्दिरमा १३ जना र भीमसेन शिला तरवारमा २३ जना गरी ३६ जना पण्डीतहरुले पूजा गर्ने कार्यक्रम रहेको लघुरुद्री आयोजक समितिका संयोजक प्रबिण थपलियाको भनाई छ ।
यस अघि भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पूजा समेत गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।