उदयपुर ।
उदयपुरको गाईघाटमा बिहीबार स्थानीय निकायका प्रतिनिधि सरोकार वाला तथा सुरक्षा निकायका सबैलाई विपद् का समयमा गरिने प्रतिकार्य सम्बन्धी तीन दिने प्रशिक्षण समापन भएको छ ।
स्थानीय समुदाय तथा स्थानीय विपद् व्यवस्थापनसमितिका सदस्यहरुकालागि विपद् प्रतिकार्य तथा समुदायको क्षमता अभिवृद्धि तालिमको तेस्रो दिनको पहिलो सत्रमा प्रयोगात्मक अभ्यास भएको छ ।
गाईघाटस्थित थरुहट रंगशालामा तीन दिनदेखि प्रयोगात्मक रुपमा आगलागी नियन्त्रण, बाढी पहिरो, भूकम्प तथा आकस्मिक रुपमा हुने विपद्का समयमा उद्धार कार्यगर्दा अपनाउनु पर्ने विधिका बारेमा उदयपुरका ८ वटै स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा अन्य सरोकारबालाहरुलाई प्रशिक्षण दिइएको थियो ।
नेपाली सेनाको पशुपतिप्रसाद गण, नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरीको ५ नं गण गाईघाटको सहकार्यमा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरण्डेकको आयोजनामा भएको प्रशिक्षणमा विपद्मा हुने जोखिम न्युनिकरण गर्न, विपद्मा क्षति हुन नदिन, रोकथामका उपायका बारेमा प्रयोगात्मक रुपमा नै उद्धार कार्य सफल बनाउन प्रशिक्षण दिइएको थियो ।

विपद् प्रतिकार्यमा क्षमता अभिवृद्धि गर्न, कुशल विपद् व्यवस्थापन तथा नियन्त्रण, आपसी सहयोग, सहयोगात्मक नेतृत्व प्रणालीको विकास गर्न र यसको अवधारणालाई अघि बढाएर सहयोग जुटाउन तथा प्रशिक्षक र प्रशिक्षार्थीको सहभागितामा आगलागी नियन्त्रण गर्न नमुना अभ्यास गरिएको हो ।
विभिन्न कारणले हुने आगलागी नियन्त्रण गर्नकालागि सबैभन्दा पहिले स्थानीयले प्रयास गर्ने र नियन्त्रणमा नआएपछि जिल्ला विपद् व्यवस्थापनमा खबर गर्ने चलन रहेको छ । सूचना पाएपछि तयारी गर्न पर्ने आवश्यक तयारीका बारेमा तथा आवश्यक सामाग्रीका बारेमा प्रयोगात्मक रुपमा नै नमुना आगलागी गराएर उद्धार कार्यमा आवश्यक पर्ने स्थानीय उद्धारकर्मी, सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकल, स्वास्थ्य कर्मीहरु, स्वास्थ्य संस्था लगायतकाले सधैँ तयारी अवस्थामा बसिरहेको र विपद्को सूचना प्राप्त हुने वितिकै उद्धार कार्यमा खटिएको प्रयोगात्मक रुपमा देखाइएको थियो ।
श्रोत व्यवस्थापकले उद्धार कार्यमा आवश्यक पर्ने सामान तयारी पारेर राख्ने र आर्थिक प्रशासनले उद्धार कार्यमा आवश्यक पर्ने खर्च व्यस्थापन गरेर राख्नु पर्ने कुराहरुका बारेमा तालिम दिइएको थियो ।
वस्तविक रुपमा घटना हुँदाका समयमा नमुना अभ्यासमा प्रयोगात्मक रुपमा देखाए झै गरी उद्धार गर्न, उपचार गर्न, राहत वितरण गर्न लगायतका विषयमा नमुना आगलागी गराएर उद्धार प्रयास गरेर दमकल एम्बुलेन्स ल्याएर आगलागी नियन्त्रण गरेर बिरामीलाई उपचारकालागि एम्ब’लेन्स मार्फत अस्पताल लगेको उदाहरण समेत देखाइएको थियो ।

सो अवसरमा नेपाली सेनाको पशुपति प्रसाद गणबाट र सशस्त्र प्रहरीको ५ नं गण बोक्सेबाट विपद्का समयमा आगलागी, वाढी पहिरो तथा अन्य आपत् विपद्का बेलामा उद्धार गर्दा प्रयोग गरिने विभिन्न प्रकारका सामानहरुको प्रदर्शनी समेत गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।