दोलखा।
ढुङ्गा उड्ने कहानी धेरैले कथाहरु मा पढ्ने गर्छन् । केही फिल्ममा पनि यस्ता दृश्य राखिएको हुन्छ । तर यसको सत्यतामा कमैमात्र विश्वास गरिन्छ । यस्तै अपत्यारिलो कथा भेड्पुको माथिल्लो ब्याडका स्थानीयले सुनाउने गरेका छन् ।
दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– ४ भेड्पु कालापोखरी क्षेत्रमा सानो खर्क छ, जसलाई माथिल्लो ब्याड भनिन्छ । खर्कको छेउमा एउटा ढुङ्गा छ । उक्त ढुङ्गालाई स्थानीयले ‘उड्ने ढुङ्गा’ भन्ने गरेका छन् । स्थानीय केसिंह बहादुर खड्का मानिस, बाघ र गाईको पाइला भएको उक्त ढुङ्गा राति उड्ने गरेको कहाँनि आफूले बाजेबाट सुनेको बताउँछन् ।
झट्ट हेर्दा रकेट आकारको करिब तीन फिट लम्बाई भएको उक्त ढुङ्गामा एउटा मानिसको पाइला, एउटा बाघको पाइला र एउटा गाईको पाइला भने स्पष्ट रुपमा देख्न सकिन्छ । खर्कभन्दा टाढा– टाढा बस्ती भएकोले बाजे– जिजुबाजेको पालामा खर्क आसपास गोठालाहरु गोठ बनाएर बस्ने गरेको र उनीहरुले नै हरेक दिन राति उक्त ढुङ्गा आगोको ज्वाला जसरी रातो भएर उड्ने गरेको देखेको कहानी बाजेले आफूलाई सुनाएको स्थानीय केसिंह बहादुर खड्काको भनाई छ ।
उबेला उक्त ढुङ्गा हरेक दिन राति १२ बजे आगोको ज्वाला जस्तो भएर उड्ने र खर्कको एक फन्को लगाएपछि आएर पहिलेकै ठाँउमा बस्ने गरेको कहानी बाजेले सुनाउनु भएको केसिंह बहादुरको भनाई छ ।

पहिले पानी भित्र रहेको उक्त ढुङ्गा झण्डै डेढसय बर्ष अघिबाट माथिल्लो ब्याड खर्कको छेउमा भएको बाजेबाट सुनेको र अहिले पनि उक्त ढुङ्गा पहिलेकै ठाँउमा रहेको केसिंह बहादुर खड्का बताउँछन् । आफूहरुले भने उक्त ढुङ्गा उडेको कहिल्यै नदेखेको केसिंह बहादुर खड्का बताउँछन् । भेड्पुबाट शैलुङ महादेव थानको दर्शन गर्न जाने स्थानीयले भने उड्ने ढुङ्गालाई फूल– अक्षेताले पूजा गर्ने गरेको स्थानीय बताउँछन् ।
‘उड्ने ढुङ्गा’ रहेको खर्क क्षेत्र र केही तलको कालपोखरी ऐतिहासिक थलो भएकोले यसको संरक्षणमा गाँउपालिकाले पहल गर्नुपर्ने स्थानीयको माग छ ।
मेलुङ गाँउपालिकाका अध्यक्ष हिराकुमार थोकर कालपोखरी– माथिल्लो ब्याड क्षेत्रमा सडक पुगेको र पोखरी र उड्ने ढुङ्गाको संरक्षण गरी त्यस क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने पालिकाको योजना रहेको बताउँछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।