काठमाडौं।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ गते काठमाडौंमा आयोजित शान्तिपूर्ण विरोधसभाका क्रममा भएका हिंसात्मक घटनाप्रति पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गहिरो दुःख व्यक्त गरेका छन्।
चन्दले जारी गरेको विज्ञप्तिमा विरोधसभाका क्रममा नियोजित रूपमा हत्या, हिंसा, आगजनी र लुटपाटका घटनाहरू भएको भन्ने खबरप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। यदि ती घटनाहरू सत्य भए, भने तिनीहरू “निन्दनीय” भएको उनले बताएका छन्।
विरोध प्रदर्शनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चन्दले पीडित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
त्यस्तै, उनले संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतका सबै गिरफ्तार नेताहरूको तत्काल रिहाइको माग गरेका छन्।
चन्दका अनुसार, मुलुक अब निषेधको राजनीतिबाट अघि बढ्न सक्दैन र राष्ट्रिय सहमति, सहकार्य तथा एकता नै निकासको अपरिहार्य मार्ग हो। उनले राजसंस्था, राजनीतिक दल र सम्पूर्ण जनतालाई मिलन बिन्दु पहिल्याउन आह्वान गरेका छन्।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।