काठमाडौँ।
काठमाडौं प्रहरी परिसरले चैत १५ गते (शुक्रबार) तीनकुनेमा भएको तोडफोड, आगजनी, लुटपाट र प्रहरी कारबाहीको घटनाबारे सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधि नगर्न अपिल गरेको छ।
प्रहरी परिसरका सूचना अधिकारी अपिलराज बोहरले सामाजिक सञ्जालमा पछिल्लो समय फैलिएका केही सूचनाले जनमानसमा गलत धारणा सिर्जना गरेको बताएका छन्। उनले प्रहरी छतमा बन्दुक लिएर बसेको, मृतक पत्रकारको शरीरमा गोली भेटिएको जस्ता आधारहीन कुराहरू फैलाइएको भन्दै यस्ता भ्रामक प्रचारले समाजमा अन्योल, भय र गलत धारणा उत्पन्न गर्ने जोखिम रहेको औँल्याए।
तीनकुने घटनापछि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले अनर्गल सामग्री पोस्ट र शेयर गरेको पाइएको प्रहरीको भनाइ छ। “यस्ता गतिविधिले शान्ति सुरक्षामा चुनौती थपिन्छ र अनुसन्धान प्रक्रियालाई समेत प्रभावित पार्छ,” बोहराले भने।
प्रहरीले यस्ता भ्रामक सूचनाको स्रोत र प्रभावबारे पनि निगरानी बढाएको छ। घटनाको सत्य–तथ्य स्थापना गर्न प्रहरीले तथ्यमा आधारित अनुसन्धान गरिरहेको उनको दाबी छ।
साथै, प्रहरीले अनुसन्धानमा सहयोग पुर्याउन आम नागरिकलाई आह्वान गरेको छ। यदि कसैसँग तीनकुने घटनासँग सम्बन्धित कुनै सूचना, फोटो, भिडियो वा अन्य प्रमाण छ भने जिल्ला प्रहरी परिसर काठमाडौँको इमेल ठेगाना, फेसबुक पेज वा प्रवक्ताको सम्पर्क नम्बर मार्फत उपलब्ध गराउन अनुरोध गरिएको छ।
प्रहरीले शान्ति सुरक्षा कायम राख्न संयतता, धैर्यता र जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको उल्लेख गर्दै आधारहीन अफवाह र गलत सूचनाको पछि नलाग्न सबैलाई सचेत गराएको छ।
“सामाजिक सञ्जालमा देखिएका हरेक सामग्री सत्य नहुन सक्छन्। नागरिकले सत्य पुष्टि नभएसम्म यस्ता कुरालाई विश्वास नगर्न र फैलाउनबाट जोगिन आग्रह गर्छौँ,” प्रहरीको विज्ञप्तिमा भनिएको छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।