
लमजुङ।
लमजुङको बेसीशहर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगर भित्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य उत्पादन बजारमा सम्म ल्याउन एकता कृषि सहकारी संस्थालाई कृषि एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरेको छ ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले एक कार्यक्रमका बिच एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरेलाई कृषि एम्बुलेन्सको चावि हस्तान्तरण गरेका हुन् । नगरपालिका र एकता कृषि सहकारी संस्थाबीच भएको सम्झौंता बमोजित नगरप्रमुख अर्याले कृषि एम्बुलेन्स कृषि सहकारीका अध्यक्ष घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
कृषि एम्बुलेन्सले नगरभित्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको ढुवानी, बजारीकरण व्यवस्थापन र कृषकहरुलाई प्राविधिक सहायतामा सहजता हुने नगरप्रमुख गुमान सिंह अर्यालको भनाई छ ।
नगरपालिकाले आर्थिक बर्ष २०७९-०८० मा २४ लाख १५ हजार बजेट विनियोजन गरी कृषि एम्बुलेन्स खरिद गरेको थियो ।
समित्व नगरपालिकामै रहनेगरी आगामी असार मसान्तसम्म संचालन तथा व्यबस्थानपका लागि एकता कृषि सहकारी संस्थालाई कृषि एम्बुलेन्स प्रदान गरिएको बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताए ।
व्यवसायी युवाहरुले गठन गरेको एकता कृषि सहकारी संस्थाले केही समयअघि मात्र बेसीशहर ८ ठाडो लाइनमा ‘किसान घर’ सञ्चालनमा ल्याएको छ । किसानले स्थानीय क्षेत्रमा गरेको उत्पादन खासगरी तरकारीलाई उचित मूल्यमा बिक्री गर्न र उपभोक्तालाई पनि सस्तो मूल्यमा खरिद गर्न सहज होस् भन्ने उद्देश्यले किसान घर सञ्चालन गरिएको हो । कृषि एम्बुलेन्स भएपछि किसानका उत्पादन बजारमा ल्याउन सहज हुने र तालिका बनाएर गाउँगाउँबाट किसानका उत्पादन सङ्कलन गरिने एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरले बताए ।
कृषि एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरपालिका उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।