सिराहा ।
सिराहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरिएको छ। पूर्व पश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् ।
भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको र उनीहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदेखाएको स्थानीयहरूको आरोप छ ।
नरहा गाउँपालिका ३ वडा कार्यालयको सिफारिसका आधारमा भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मियाँले २०८० असार २६ मा जिल्ला प्रशासन सिरहाबाट १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका थिए ।
यो घटना बाहिरिएपछि मोस्ताकलाई नागरिकता दिलाउन नक्कली बुवा बनाइएका स्थानीय अमानत मियाँलाई प्रहरीले चैत ५ मै पक्राउ गरिसकेको छ ।

प्रहरीले वडाध्यक्ष अन्सारी र वडासचिव मण्डलको समेत सिराहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उनीहरु राजनीतिक आडमा खुलेआम घुम्दै आएका छन् ।
नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी एमाले पार्टीबाट निर्वाचित भएका छन् । उनलाई जिल्लाकै केन्द्रीय नेताहरूले संरक्षण गरिरहेको स्थानीयहरूको भनाइ छ।
-मुकेश कुमार यादव
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।