
बुटवल।
युवाहरुलाई खेलकुदप्रति आकर्षित गरी असल, सभ्य, अनुशासित र स्वास्थ्य बनाउने उद्देश्यले आयोजित ११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि दाङका माधव सुबेदी र नवलपरासीका रुबिना कुँवरले हासिल गर्न सफल भएका छन्। प्रतिस्पर्धात्मक फाइनल राउन्डमा अन्य चार जना समूह बिजयी खेलाडीलाई उछिनेर माधव सुवेदी च्याम्पियन बन्न सफल भएका हुन।
लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेशका ५३ जना खेलाडी सहभागी रहेको सो प्रतियोगितामा ६५ केजी वजन समूहबाट विजेता भइ फाईनल चरणमा पुगेका लुम्बिनी प्रदेश, मस्का फिटनेस दाङका माधव सुवेदी औभरअल च्याम्पियन बन्न सफल भए। विभिन्न तौल समूहबाट प्रथम बन्दै छनौट चरण पार गरेका ५ जना विजेता खेलाडीहरूले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए ।
लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको सो प्रतियोगितामा महिला फिजिक्स तर्फको उपाधी भने नवलपरासीका रुबिना कुँवरले हात पारिन। अर्घाखाँचीकी रिता बिश्वकर्मा र रुपन्देहीकी चुनु पुन क्रमशं दोस्रो र तेश्रो भए। उनीहरुले मेडल, प्रमाणपत्र तथा ट्रफिसहित क्रमशः नगद २० हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे । महिलातर्फ भने ५ जना मात्र खेलाडी सहभागी भएका थिए।
प्रतियोगिताको ५५ केजी तौल समूहतर्फ रुपन्देहीका बिनोद कुमार थापा प्रथम, रुपन्देहीकै सागर विक दोस्रो र बाँकेका करन बडिया तृतीय भए । यस्तै ६० केजी तौल समूहमा कपिलवस्तुका सुरेन्द्र कुमार बर्मा प्रथम, गण्डकी प्रदेशका ईश्वर गुरुङ द्वितीय र कास्कीका सुजन थापा तृतीय भए । ६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, गुल्मीका गौतम राना द्वितीय र दाङका प्रतीक चौधरी तेस्रो बनेका छन्।
यस्तैगरी ७० केजी वजन समूहमा लुम्बिनी प्रदेश दाङका माधव सुवेदी प्रथम, गण्डकी प्रदेश तनहुँका सन्तोष श्रेष्ठ द्वितीय र सुदुरपश्च्मिको धनगढीका उदय खड्का तृतीय भए भने ७० केजी वजन भन्दा माथिको समूहमा लुम्बिनी प्रदेश दाङका दिपजंङ्ग मगर प्रथम, रुपन्देहीका कुशल प्रसाद गुरुङ द्वितीय र रुपन्देहीकै अनिश थापा तृतीय भएको भएका छन्। प्रत्येक वजन समूह प्रथम दोस्रो र तेस्रो भएका खेलाडीहरूले मेडल, प्रमाणपत्र सहित जनही क्रमशः १० हजार ८ हजार र ५ हजार नगद हात पारे।
प्रतियोगितामा सहभागी ५३ जना प्रतिस्पर्धी खेलाडीहरुको चुनौतीलाई पाखा लगाउँदै माधवले ११ औँ बुटवल श्री को उपाधिसंगै १ लाख नगद, सप्लिमेन्टहरु सहित आकर्षक ट्रफि हात पारे।
पुरस्कृत खेलाडीहरुलाई अध्यक्ष सितु प्रसाद श्रेष्ठ, प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय बिशिष्ठ अतिथि प्रदेश खेलकुद परिषद् लुम्बिनी सदस्य सचिव तिरनदाज गौतम, नगर खेलकुद समिति बुटवलका अध्यक्ष बोनिन पिया लगायतले पुरस्कार प्रदान गरेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।