
बैतडी ।
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली, र दशरथचन्द नगरपालिका १० की ३० वर्षीया कविता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।