म्याग्दी।
हिमाली जिल्ला म्याग्दीमा पछिल्लो तथ्याङ्क अनुसार साढे ४० हजार जनाभन्दा धेरै सर्वसाधारण, नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा जोडिएका छन् । चालु आर्थिक वर्ष २०८१-०८२ को हालसम्म जिल्लाभर कुल ४० हजार ६ सय ४८ जनाले स्वास्थ्य बीमा गरेका हुन् ।
स्वास्थ्य बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या १४ हजार ६ सय २४ रहेको छ भने जिल्लामा कुल सेवा प्रदायक स्वास्थ्य संस्था दुईवटा मात्रै छन् । म्याग्दी जिल्लामा प्रदेश अस्पताल बेनी र दरबाङ आधारभूत अस्पताल दरबाङमा मात्रै नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । यी दुईवटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा गरेका नागरिकले बीमाको सुविधा उपभोग गरिरहेका छन् ।

म्याग्दी जिल्लामा स्वास्थ्य बीमाको नवीकरणको दर ७२ प्रतिशत रहेको छ भने अति गरिब बीमित सङ्ख्या २२ रहेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय म्याग्दीले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत ६ हजार ३ सय ९६ जना ज्येष्ठनागरिकहरु समेटिएका छन् भने ५३ जना एच.आई.भी. संक्रमितहरुले स्वास्थ्य बीमा गरेका छन् । यसैगरी अति अशक्त अपाङ्गतर्फ बीमितको सङ्ख्या १ सय ५१ जना रहेकोमा कुष्ठरोग संक्रमितका बीमित २ जना र एमडिआर टिबी २ जना रहेको स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक उपेन्द्र बरालले जानकारी दिए ।
जिल्लामा ३ सय ७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु क्रियाशील रहेकोमा त्यसमध्ये जम्मा १ सय ९८ जनाले मात्रै स्वास्थ्य बीमा गरेका छन् । सरकारले समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई निःशुल्क रुपमा स्वास्थ्य बीमाको सुविधा दिएको छ । नेपालमा वि.सं. २०७२ सालमा सुदुरपश्चिमको कैलाली जिल्लाबाट स्वास्थ्य बीमा लागू गरिएको थियो । अहिले ५ जनासम्मको परिवारले ३५ सय रुपैयाँ र ५ जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिव्यक्ति थप सातसय रुपैयाँको दरले शुल्क तिरेर स्वास्थ्य बीमा गर्न सक्ने व्यवस्था रहेको छ । स्वास्थ्य बीमा गरेपछि यसको सुविधा पाउन तोकिएकै स्वास्थ्य संस्थामा मात्रै जानुपर्दछ ।
यसैबीच ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’, ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नारासहित यसवर्ष देशैभर नवौं स्वास्थ्य बीमाको वार्षिकोत्सव विविध कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । सोही अनुसार म्याग्दी जिल्लामा पनि स्वास्थ्य बीमाको वार्षिकोत्सव तथा विश्व स्वास्थ्य दिवस कार्यक्रम सोमबार मनाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक बरालले आफ्नो प्रस्तुतीकरणसहित सहजीकरण गरेका थिए ।

कार्यक्रमममा प्रदेश अस्पताल बेनी म्याग्दीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले आर्थिक अभावकै कारण उपचार सेवाबाट बञ्चित कुनै पनि बिरामीलाई बेनी अस्पतालमा निःशुल्क रुपमा उपचार गर्ने गरिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिँदै बेनी अस्पतालको सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउन पहल भैरहेको बताए ।
प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम २०२५ मा आएर बल्ल देशैभर पुगेको बताउँदै म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रहेको बताए । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकृत विनिता जिसीले स्वागत गरेकी थिइन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।