
म्याग्दी।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्ने अन्नपूर्ण हिमालको हिमपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । आज दिउँसो साढे १ बजेको समयमा अन्नपूर्ण हिमालको २ नम्बरदेखि ३ नम्बर रुटको बीचमा पर्ने बेसक्याम्पमा अचानक माथिबाट हिमपहिरो खसेर दुईजना शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सेभेन समिट ट्रेकिङ एजेन्सी काठमाडौंमार्फत पर्वतारोहीलाई हिमाल आरोहण गराउन गएका सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका २७ वर्षीय रिमा रेन्जी शेर्पा र ३२ वर्षीय निमा टासी शेर्पा रहेको सेभेन समिट टे«कका समन्वय अधिकृत निङमा शेर्पालाई उदृत गर्दै म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।
हिमपहिरोमा परेर बेपत्ता भएको खबर पाउनसाथ सेभेन समिट टे«किङमार्फत प्रभु एअरको हेलिकप्टर परिचालन गरेर बेपत्ता भएका शेर्पाद्वयको खोजी थालिएको टे«किङ एजेन्सीले जनाएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
अन्नपूर्ण हिमालको आधारशिविरमा रहेका अन्य शेर्पाहरु पनि हराएका दुईजना शेर्पाको खोजीकार्यमा जुटेको जनाइएको छ । यसवर्ष वसन्त ऋतुमा अन्नपूर्ण हिमाल आरोहण गर्नका लागि विभिन्न चारवटा समूहमा ३० जना पुरुष र १२ जना महिलाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।