
वीरगन्ज।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को कार्यालय तोडफोड भएको छ । मंगलबारराति ५-६ जनाको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।
‘कार्यालयको ताला फोडेर अफिसियल काजगात चोरी गरेर लगेको देखिन्छ । कार्यलायभित्र रहेका दराज, टेबल, पंखा, कुर्सी लगायत सामग्री तोडफोड भएको छ । तोडफोड गर्ने समूहमाथि किटानी जाहेरी दिने तयारी भइरहेको छ,’ अध्यक्ष यादवले भने । एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको झोकमा ती समूहले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने आशंका रहेको अध्यक्ष यादवले जानकारी दिए । ‘एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस गर्न वडाध्यक्ष ज्यूमाथि दबाब आएको भन्ने सुनेको छु । भारतीय नागरिकलाई कसरी सिफारिस दिन सकिन्छ र ? वडाध्यक्ष ज्यूले ती व्यक्तिहरूमाथि मुद्दा दिने तयारी गरिरहनु भएको जानकारी पाएको छु । थप जानकारी उहाँसँगै लिनुहोला,’ पालिका अध्यक्ष यादवले भने ।
रातिको समयमा प्रवेश गरेका ५-६ जनाको समूहले १२ वटा कुर्सी, ३ वटा दराज तोडफोड गर्नुका साथै लेटरप्याड, छाप र ल्याप्टप चोरी गरेर लगेको वडाध्यक्ष आरिफ अन्सारी बताए । ‘६ महिनादेखि एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिन दबाब आइरहेको थियो । सिफारिसका लागि ममाथि विभिन्न धाकधम्की आइरहेको थियो । तिनै समूहले राति तोडफोड गरेका हुन् । उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्सा पुगेको छु,’ वडाध्यक्ष अन्सारीले भने । वडा कार्यालय तोडफोडबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको पर्साका एसपी गौतम मिश्रले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।