
रामेछाप ।
वनको डढेलो नियन्त्रणका क्रममा ज्यान गुमाएका सैनिकको सम्झनामा रामेछापमा सैनिक स्मृति पार्क निर्माण गरिएको छ ।
२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक बनको जङ्गलमा लागेको आगो निभाउने क्रममा रामेछापका १३ जना सैनिक जवानहरूले डढेलोमा परेर ज्यान गुमाएका थिए । उनीहरूको सम्झनामा सैनिक पार्क निर्माण गरी शुक्रवार उद्घाटन गरिएको हो ।
डिभिजन बन कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापको मूल ढोका नजिक करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरेको पार्क निर्माण सम्पन्न भएको ३४ महिनापछि शुक्रवार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।
पार्कको उद्घाटन श्री नं ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले संयुक्त रूपमा गरेका हुन् । स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते नै काम सम्पन्न गरेको भए पनि पार्क विविध कारणले उद्घाटन हुन सकेको थिएन ।
२०६६ वैशाख १० गते कर्तव्य पालनाको सिलसिलामा बन डढेलो नियन्त्रण गर्ने क्रममा वीरगति प्राप्त गरेका श्रीजंङ्ग गण तथा रुद्रध्वज गणका वीर सैनिकहरूको उच्च सम्मान गर्दै डिभिजन वन कार्यालय रामेछाप,रामेछाप नगरपालिका,स्थानीय बासिन्दाको सक्रियता तथा खड्ग दल गणको संयुक्त प्रयासबाट पार्क निर्माण भएको थियो ।
करिब १६ वर्ष अगाडि हालको रामेछाप नगरपालिका वडा नं ८ स्थित बादी पाखा सामुदायिक वनमा लागेको डढेलोबाट जिल्ला अस्पताल रामेछापमा हुन सक्ने करोडौँको धनजनको क्षति तथा स्थानीय बस्तीमा समेत हुन सक्ने क्षति रोक्नका लागि तत्कालीन समयमा रामेछाप जिल्लामा तैनाथ रहेको श्रीजंग गणका १३ जना सैनिक व्यक्तिहरूले सो क्षेत्रमा आगलागी नियन्त्रणको क्रममा वीरगति प्राप्त गरेका थिए ।
पार्क उद्घाटन कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपाने, नेपाली सेनाका नं. ९ बाहिनीपति सहायक रथी युवराज कार्की,प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल ,खड्ग दल गणका गणपति प्रमुख सेनानी प्रमोद पौड्याल लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा अन्य सरकारी कार्यालयका प्रमुख,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।