
स्याङ्जा।
वालिङ नगरपालिकामा गौरवको आयोजनाको रुपमा रहेको वालिङ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनका लागि ३ दर्जनभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । २०८१ चैत्र २६ गतेबाट शुरु भएको चुनावी प्रक्रिया हालसम्म पनि सकिएको छैन । २०८२ बैशाख ४ गते बिहीबार संस्थाको कार्यालयमा समितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको थियो । संस्थाको संचालक समितिमा ६ पदका लागि ३९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
यही बैशाख १० गते निर्वाचन गर्ने गरी निर्वाचन समितिले तयारी थालेको छ । उमेदवारीको लर्को हेर्दा निर्वाचन प्रक्रिया अलि झन्झटिलो हुने बताइएको छ । ३ हजार २९ जना मतदाता नयाँ नेतृत्वका लागि मतदानमा सहभागि हुनेछन् । खानेपानी जस्तो नागरिकको अत्यावश्यक ठानिएको संस्थामा चुनावी प्रक्रिया भन्दा पनि सहमतीय प्रणालीमा समिति चयन गर्न उपभोक्ताहरुको दबाब आएको छ । तर राजनीतिक खिचातानीका कारण संस्थामा निर्वाचन हुने निश्चित भएको छ । मुलुकका दुई ठुला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेसहित नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत केही व्यक्ति स्वतन्त्र भएर उम्मेदवारी दर्ता गरेको देखिएको छ ।
दलीय हिसाबले सबैभन्दा धेरै उपभोक्ता काँग्रेस र एमालेकै रहेको बताइएको छ । दुवै दलले सहमतीय प्रणालीको प्रयास गरेपनि संस्थाको समितिमा जाने इच्छा धेरैले राखेपछि उम्मेदवारी दर्ता गर्नेको संख्या बढेको देखिएको छ । नेपाली काँग्रेसले विद्या श्रेष्ठको नेतृत्वमा ६ जनाको नाम दर्ता गराएको छ भने नेकपा एमालेले दिलीपकुमार वगालेको नेतृत्वमा ६ जनाको नाम दर्ता गराएको छ । यता रास्वपाले दिनेश तिवारीको नेतृत्वमा ६ जनाको नाम दर्ता गरिएको दावी गरेको छ । अन्य अध्यक्षका उमेदवारहरुले भने आफ्नो टिम तयार गर्छन या एक्लाएक्लै चुनावी मैदानमा भिड्ने छन् त्यो भने निर्वाचनकै बेला देखिनेछ ।
दुई ठुला दलमध्ये एमाले निकै अफठ्यारोमा देखिएको छ । आफ्नै उमेदवारका बिरुद्ध उम्मेदवारी दिएको चर्चा बाहिर आएको छ । अध्यक्षको उम्मेदवारी दर्ता गराएका चोपनारायण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ एमाले पार्टीका कार्यकर्ता हुन् । बालकृष्ण श्रेष्ठले भने पछिल्लो समय एमाले पाटी परित्याग गरेको बताइएको छ । उनलाई नेकपा माओवादीको सहयोग हुने बुझिएको छ । खानेपानी संस्थाको तेस्रो अधिबेसनका लागि अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष पदका लागि दिलीपकुमार वगाले, चोपनारायण श्रेष्ठ, विद्या श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, मुक्तिप्रसाद सुवेदी, दिनेश तिवारीले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने विद्या श्रेष्ठ निर्वतमान अध्यक्ष हुन् भने चोपनारायण श्रेष्ठ निर्वतमान कोषाध्यक्ष हुन् । अरु सबै नयाँ अनुहार रहेका छन् ।
यसैगरी उपाध्यक्ष पदका लागि मन्जु खड्का क्षेत्री केसी, कल्पना पौडेल अर्याल र रिमा केसी रहेका छन् । खड्का एमाले, अर्याल काँग्रेस र केसीले रास्वपाबाट उम्मेदवारी दिएको बताइएको छ । सचिव पदमा खगेन्द्रप्रसाद अर्याल, तेजबहादुर आले, टेकलाल खनाल, मणिप्रसाद पंगेनी, भवानी प्रसाद ढुङ्गाना, ध्रुवप्रसाद सुवेदी, जीवलाल काफ्ले रहेका छन् । सचिव पदका लागि ७ जनाविच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्षका लागि रोशन कुँवर, जीवन तिवारी, कृष्णबन्धु काफ्ले, भुपराज डुम्रे, बासुदेव पौडेल र तुलसीराम पौडेल रहेका छन् । कोषाध्यक्षका लागि ६ जनाबिच चुनाव हुनेछ ।
एक पद खुला सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खुला सदस्यका लागि बुद्धिसागर सुवेदी, सुर्यप्रसाद काफ्ले, खेमराज खनाल, सोमबहादुर गुरुङ्, युक्तप्रसाद तिवारी, ताराप्रसाद श्रेष्ठ, सरीता कोइराला अर्याल, धनपति सुवेदी, बोधराज सुवेदी, रुकमागत पौडेल, गोवबहादुर विश्वकर्मा, आत्मराम सुवेदी, माधवप्रसाद कंडेल र घनश्याम सुवेदी रहेका छन् । खुला सदस्यका लागि एकमात्र महिला उम्मेदवार कोइराला छन् भने अन्य सबै पुरुष रहेका छन् । महिला सदस्य एक पदका लागि ३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि कृष्ण कुमारी आले थापा, अप्सरादेवी एसके, कमला भण्डारी चुनावी मैदानमा उत्रन उम्मेदवारी दर्ता गराएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।