
काठमाडौँ।
नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको घर भई हाल ललितपुर-२५ बस्ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानुन मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईँलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु र सो प्रयोजनको लागी राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भन्दै सात लाख ६० हजार ८०० रुपैयाँ लिएको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।