
बुटवल।
भैरहवामा निमार्ण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यहाँका उद्योगी व्यवसायीले सयौं करोड रुपियाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन । तर अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा संचालन हुन नसक्दा उद्योगी व्यवसायी पीडामा परेका छन् । सोही विषयलाई ध्यानमा राखी सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेर पीडा सुनाएका थिए ।
सोही समारोहमा उद्योगीका गुनासा सुनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक मेरुदण्डका रुपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको समेत बताए । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्न आवश्यक सेवा विस्तारका लागि प्रदेश सरकार साझेदारी गर्न तयार रहेको मुख्य मन्त्री आचार्यले प्रष्ट पारे ।
संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै उनले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा सेवाहरू तत्काल विस्तार गर्न बारम्बार ध्यानाकर्षण गराइएको बताए । भिम अस्पताललाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिन सकिने उनको भनाइ थियो ।
’हामीले स्वास्थ्य परीक्षण निःशुल्क गरिदिन सक्छौं भनेर भनेका छौं, उनले भने, ’श्रम स्वीकृतिका लागि छुट्टै कार्यालय खोल्न पनि पर्दैन । यहीँबाट सेवा दिन सकिन्छ।
संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने, ’सडक तताएर होइन, संवादलाई नै अघि बढाएर जानुपर्छ । विमानस्थल जसरी, जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । अहिले पनि म ढुक्क छु, यसलाई सञ्चालन गराउँछौं ।
उनले व्यवसायीहरूको साथमा प्रदेश सरकार रहेको र विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहलको नेतृत्व प्रदेश सरकारले लिने स्पष्ट पारे ।
कति छिटो नतिजा निकाल्न सक्छौं, हामी त्यसमा लाग्छौं,। उनले भने, ’धमिलो पानीमा माछा मार्न सक्छौं कि भनेर कसैले नसोचे हुन्छ । सहकार्य गरेर उद्योग वाणिज्य संघले योजना बनाओस्, म नेतृत्व गरेर जान तयार छु । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।