
बुटवल।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग गर्दै बुधवार विमानस्थल अगाडी १ घण्टा धर्ना प्रदर्शन गरिएको छ ।
विमानस्थल सञ्चालन नहुँदा यहाँका व्यवसायीहरुले भोगेका समस्यालाई गायिका गंगा घिमिरेले गीत गाएर पीडा सुनाएकी थिइन् । विमानस्थल सञ्चालनको आशामा ठूलो लगानी लगाएका लगानीकर्ताहरूको पिरलाई समेटेर गाईएको गीतले बोलिरहेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले दिएको वाचा पुरा नगरेको भन्दै निजिक्षेत्र फेरि आन्दोलित भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थल देखेर लगानी गरेकाको लगानी डुब्ने जोखिम बढेको उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्व अध्यक्ष, नारायण प्रसाद भण्डारी गुनासो गरे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले देखाएको उदासीनताको कारण यहाँ ८० अर्ब भन्दा बढीको लगानी जोखिममा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य गुनासो गरे ।
सरकारले पटक पटक विमानस्थल सञ्चालन गर्ने वाचा दिए पनि त्यो पुरा गराउन नसकेको व्यवसायीहरुको आरोप रहेको छ । विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार श्रोतको व्यवस्थापन गर्न निजी क्षेत्रले माग राखेका छन् । यसबारे ज्ञापन पत्र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने पूर्व निर्धारित कार्यक्रम थियो । तर महाप्रबन्धक ज्ञापनपत्र बुझ्न बाटोमा नआएपछि व्यवसायीहरू आक्रोशित भएका थिए ।
आन्दोलित व्यवसायीहरुले ज्ञापनपत्र सञ्चारकर्मीहरुमाझ सार्वजनिक गरे । ज्ञापन पत्रमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गरिनुपर्नेे माग सारेका छन् । निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने निति तथा सहजीकरण कर छुट, सेवा शुल्क छुट गर्न र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको शीघ्र समाधान गर्न माग गरिएको छ ।
विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्ने माग पुरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी व्यवसायीले दिएका छन् । उद्योग व्यापार संगठन , चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा भएको धर्ना कार्यक्रमलाई विभिन्न संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।