
काठमाडौं।
भारत र पाकिस्तानबीचको पछिल्लो तनावका कारण दुवै देशका आन्तरिक तथा अन्तर्राष्ट्रिय मात्रै होइन अन्य देशका उडानहरू पनि प्रभावित भएका छन् । बुधबारको नेभिगेसनल डाटाले उत्तर भारत र दक्षिण पाकिस्तानको हवाईक्षेत्र पूर्णरूपमा खाली रहेको देखाएको छ। पाकिस्तानको सम्पूर्ण हवाईक्षेत्र लगभग सबै नागरिक उडानहरूबाट खाली थियो ।
भारतीय सैन्य विमानहरू उत्तर भारतमा उडिरहेको र दक्षिण पाकिस्तानमा सरकारी विमान उडिरहेको ट्र्याकिङ साइटहरूबाट निगरानी गरिएको थियो। विश्वव्यापी उडान ट्र्याकिङ गर्ने फ्लाइटराडार २४ का अनुसार बुधबार बिहानसम्म पाकिस्तानका ५२ वटा उडानहरू रद्द गरिएका थिए।
भारतले प्रहार गरेको समयमा पाकिस्तानको हवाईक्षेत्रमा ५७ अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनमा पाकिस्तान सेनाले जनाएको छ । कराची विमानस्थलमा आठ घण्टाको निलम्बनपछि मात्र दुई अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनमा आएको रिपोर्ट गरिएको थियो।
भारतको एयर इन्डियाले पाकिस्तानसँगको तनावपछि जम्मु, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका उडानहरू रद्द गरेको छ। मलेसियाली फ्ल्यागशिप क्यारियर मलेसियन एयरलाइन्सले अमृतसरका उडानहरू रद्द गरेको र पाकिस्तानको हवाईक्षेत्र बन्द भएपछि दुई लामो दुरीका उडानहरूलाई मार्ग परिवर्तन गरेको छ।
यसैबीच, इन्डोनेसियाको बटिक एयरले लाहोर, पाकिस्तान र अमृतसर, भारतका उडानहरू रद्द गरेको बताएको छ। डच एयरलाइन केएलएम, सिंगापुर एयरलाइन्स, ताइवानको इभीए एयर, कोरियन एयर, थाई एयरवेज, भियतनाम एयरलाइन्स लगायतका कम्पनीहरूले पनि आफ्ना उडान मार्गहरूमा परिवर्तन गरेका छन् ।
भारतबाट यूरोप जाने केही उडानहरू पनि लामो मार्गमा देखिएका छन्। दिल्लीबाट फ्र्याङ्कफर्ट जाने लुफ्तान्साका उडानहरूले मंगलबारको तुलनामा सूरतको नजिकबाट अरबी समुद्रतर्फ मोड लिएको फ्लाइटराडार २४ का अनुसार जनाइएको छ। यसैबीच, श्रीलङ्कन एयरलाइन्सका उडानहरू भने यस द्वन्द्वबाट अप्रभावित रहेको र पाकिस्तानको लाहोर र कराचीका चार साप्ताहिक उडानहरू यथावत् रहेको बताइएको छ।
भारतको प्रमुख एयरलाइन्सले मे १० सम्म उडान स्थगित गर्ने घोषणा गरेको छ। भारतले आफ्नो उत्तरी क्षेत्रमा रहेका केही विमानस्थलहरू पनि बन्द गरेको छ। अन्य भारतीय विमान कम्पनीहरू इन्डिगो, स्पाइसजेट र अकासा एयरले पनि पाकिस्तानको सीमासँग नजिक रहेका १० वटा सहरहरूमा उडानहरू रद्द गरेका छन् । उडान तालिकामा भइरहेका यी परिवर्तनहरूले मध्यपूर्व र दक्षिण एसियामा पहिलेदेखि नै तनावग्रस्त अवस्थामा रहेका विमान कम्पनीहरूको सञ्चालनमा थप कठिनाइ ल्याउने सम्भावना रहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।