खोटाङ ।
माझकिरात भनेर चिनिने खोटाङमा किरात राईहरुको महान चाड साकेला उभौलीको रौनक शुरु भएको छ ।
किरात समुदायको बसोबास रहेको देश बिदेशमा जस्तै खोटाङमा पनि बिधिवत रुपमा उभौली शुरु भएको हो । किरात राई यायोक्खा जिल्ला कार्य समिति लगायतको आयोजनामा भुमि, अन्नबाली तथा पित्रीको पुजाआजा गरी साकेला सिलि नाच्दै उभौलीको शुरु गरिएको हो ।

दिक्तेलबजरस्थित यायोक्खाको प्राङगणमा पुजाआजा गरी बिधिवत रुपमा साकेला उभौलीको शुरु गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युग्सन किरातले बताउनुभयो । यो चाड बसन्त ऋतु अर्थात बैशाख शुक्लपुर्णिमापुर्णिमादेखि एक महिनासम्म सिली नाच्दै धुमधाम मनाउने चलन छ । यो बर्ष पनि किरात ऐतिहासिक थलो मझुवागढी, रुपाकोट लगायतको स्थानमा पहिलो दिन साकेला सिली नाच्ने कार्यक्रम रहेको छ ।

यस्तै, तुवाचुङ, छुङ्खा, हलेसी लगायत किरात राई बस्ती तथा साकेलाथानहरुमा साकेला सिली नाच्ने जनाईएको छ ।अन्नबाली नष्ट नहोस, रोगब्याधी नलागोस, सुब्यफाब्य होस, दैबी प्रकोप तथा बिपत्तिहरु नआउन भन्ने कामनासहित प्रकृति, भुमि तथा पित्रीको पुजाआजा गर्दै उभौली शुरु गरिन्छ । जलचर-थलचर उधो अर्थात बेशिँदेखि उभो लाग्ने समय उभौली र उभोदेखि उधो झर्ने बेला मङ्सिरको पुर्णिमादेखि उधौली मनाईन्छ।
यो चाड राई, सुनुवार, लिम्बु र याख्खा जातीले मनाउने गर्दछन । उभौलीमा राई र सुनुवारहरु साकेला सिली नाच्ने गर्दछन भने लिम्बु र याख्खाहरु च्याब्रुङ नाच्दै एक-अर्कामा शुभकामना बाड्ने प्रचलन छ । भाषिक बिबिधता भएका राईहरुले साकेलालाई आ-आफ्नो भाषा र भुगोल अनुसार अन्य बिभिन्न नामले समेत सम्बोधन गर्ने गर्दछन् ।

बर्षमा दुइ पटक मनाईने यो चाड कृषियुग शुरु भएदेखि नै प्रचलनमा आएको विश्वास रहिआएको छ । यो चाडलाई अन्नबाली लगाउने बेला उभौली र उठाउने या भित्र्याउने बेला उधौलीको रुपमा पनि बुझ्न सकिन्छ । साकेला चाडलाई चेलि-माईती, आफन्तजन, ईष्टमित्र लगायत भेटघाट गर्ने बिशेष चाडको रुपमा पनि लिने गरिन्छ ।

साकेलामा परम्परागत भेषभूषामा सजिएका किरात दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । साकेलाको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल-झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनासहितका गीत गाउँदै साकेला मनाइन्छ। उभौली र उधौलीको अवसरमा नेपाल सरकारले एकरएक दिन सार्वजनिक विदा समेत दिने गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।