उदयपुर ।
कोशी प्रदेश सभाकी उप सभामुख सिर्जना दनुवारले वन उपभोक्ताहरु वनका बारेमा विज्ञ भएकोले सरकारलाई वन सबन्धी कानुन बनाउन सुझाव सल्लाह दिएर सहयोग गर्नु पर्ने बताएकी छन् ।
उपसभामुख दनुवारले मंगलबार गाईघाटमा सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर त्रियुगा नगरपालिका स्थानीय महासंघको प्रथम परिषद् भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि दनुवारले वर्षौदेखि वनसँग खेलेको र वनको अध्ययन, अनुसन्धान, उपयोग, संरक्षण तथा वनको दीगो विकासकालागि योगदान दिंदै आएकोले वनका उपभोक्ताहरुको सुझाव सल्लाह अनुसार कानुन निर्माणमा सरकारले आवश्यक पहल गर्नु पर्ने बताइन् ।
हिजोको तुलनामा आज वन क्षेत्र बढेको तथ्याङ्क देखिएको छ र यो सकारात्मक भएको बताउँदै उपसभामुख दनुवारले सामुदायिक वनका उपभोकताहरको प्रयासले वन संरक्षण भएको र हिजो नेपालमा वन क्षेत्र ३९ प्रतिशत रहेकोमा आज४६.२ प्रतिशत पुग्नु अवश्य पनि राम्रो कुरा भएकोले वन विकासकालागि विभिन्न प्रकारका बाधाहरु भए पनि आपसी छलफलबाट समाधान गरेर निराकरण गर्नु पर्ने बताइन् ।

सो कार्यक्रममा कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री नारायण बुर्जा मगरले सामुदायिक वनका उपभोक्ताहरुले संस्थागत हितकालागि सरकारसँग स्पष्ट कानुन चाहियो भनेर कानुनी रुपमा नै लडाई गरेकोले सफलता प्राप्त गरेको र सरकारले सामुदायिक वनसँग लिने करका विषयमा पनि विवाद रहेकोमा आफूले समाधानमा पहल गरेको र कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्री भएको समयमा सामुदायिक वन उपभोक्ता महासंघको उदयपुरको भवन निर्माण गर्न रु १० लाख उपलब्ध गराएको बताए ।
त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईले सरकारले गर्नु पर्ने धेरै कामहरु सामुदायिक वनले गरेको र खास गरी विपद्का समयमा गरेको सहयोग सह्रानिय रहेको तर वन डढेलोले वनमा रहेका जनावर, पशुपंक्षीहरुको ज्यान गएकोले र वातावरणीय प्रभाव कम गर्नकालागि आवश्यक पहल गर्नु पर्ने बताइन् ।
सामुदायिक वन उपभोकतामहासंघ त्रियुगा नपा स्थानीय महासंघका अध्यक्ष वेद बहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर जिल्ला शाखाका अध्यक्ष कुशलबाबु बस्नेत, उपाध्यक्ष नर बहादुर खड्का, सहायक वन अधिकृत विन्देश्वर साह लगायतका वक्ताहरुले बोलेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।