
लमजुङ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा छोराले आफ्नै बाबुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ५७ वर्षीय नवराज गुरुङको हत्या अभियोगमा उनका जेठा छोरा २३ वर्षीय लु बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि भेटिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धानमा गुरुङको टाउको, आँखा र शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएकोले घटना शङ्कास्पद रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गर्दा राति घरायसी विवादका क्रममा लु बहादुरले लाठी प्रहार गरी बाबुको हत्या गरेको बयान दिएका छन् । उनको बयान र सङ्कलित प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो ।
घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दा दर्ता गरी उनलाई जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजकिशोर साह तेलीका अनुसार थप प्रमाण संकलन र अनुसन्धान कार्य भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।